दमक/ पछिल्लो २४ घण्टामा दमकका एक जनासहित झापामा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
दमकमा मात्रै ६४ जना नयाँ संक्रमित थपिएका छन । दमक २ का ५२ बर्षिय एक पुरुषको मृत्यु भएको हो भने मेचीनगर ६ का ४८ बर्षिय पुरुषको पनि सोही अवधिमा ज्यान गएको छ । दमक नगरपालिकाका स्वास्थ्य निरिक्षक बद्री बरालका अनुसार यससंगै दमकमा दोश्रो चरणको कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५ पुगेको छ । मृतक मध्ये एक महिला छिन । अन्य सबै मृतक पुरुष हुन । संक्रमणका कारण मृत्यु हुनेका परिवारका कतिपय सदस्य समेत संक्रमित अवस्थामा उपचाररत छन ।
यसैबीच दमकमा पछिल्लो २४ घण्टामा थपिएका ६४ जना नयाँ संक्रमितहरुमा महिला र पुरुषको संख्या बराबर छ । ३२/३२ जना महिला पुरुष कोरोना संक्रमित भएका हुन । नगर स्वास्थ्य निरिक्षक बरालका अनुसार दमकको कोभिड उपचार केन्द्रमा स्वाव संकलन गरिएका ३० मध्ये २२ जनामा संक्रमण देखिएको र आज स्वास्थ्य कार्यालयबाट सार्वजनिक गरिएको संक्रमितको संख्यामा उनीहरु समेत परेका हुन । दोश्रो चरणमा दमकमा कूल २१९ जना संक्रमित भएका जनाइएको छ । अहिले सम्म १३ जना कोरोना संक्रमण मुक्त भएका र २०१ जना सक्रिय संक्रमित रहेका जनाइएको छ ।