बाल कल्याणका भूपू बिद्यार्थीले गरे सम्मानसहित विबिध कार्यक्रम

0
336

दमक/ २०१७ सालमा स्थापना भएको झापाको गौरीगञ्ज १ कुञ्जीबारीस्थित बाल कल्याण माविका भूतपूर्व बिद्यार्थी तथा शिक्षकहरुबीचको दोश्रो बृहत पुनर्मिलन कार्यक्रम शुक्रबार दोमुखामा सम्पन्न भएको छ ।

भूतपूर्व बिद्यार्थी एवं शिक्षकहरुबीच भेटघाट र अन्तरक्रियासाथै आन्तरिक पर्यटन प्रवद्र्धन समेत गर्ने उद्धेश्यले झापाको पर्यटकीय क्षेत्र दोमुखामा वनभोजसहित सो कार्यक्रम आयोजना गरिएको हो ।

सो अवसरमा ६ जना विशिष्ट व्यक्तित्वहरुलाई सम्मान गरिएको छ । गौरीगञ्ज गाउँपालिका उपाध्यक्ष दिपेन्द्र थापाको प्रमुख आतिथ्य र समाजका अध्यक्ष विष्णु पौडेलको सभापतित्वम भएको कार्यक्रममा बिद्यालयका ५ जना पूर्व प्रधानाध्यापकहरु एक जना बिद्यालय कर्मचारी र एक जना दिवंगत शिक्षक पत्नीलाई शैक्षिक बिकासमा पुरयाएको योगदानको कदर गर्दै सम्मान गरियो ।

सम्मानित हुने पूर्व प्रधानाध्यापकहरुमा जयलाल राजवंशी, देवी प्रसाद बराल, नारायण बहादुर कार्की, अच्युत नेपाल र भोला प्रसाद खतिवडा रहेका छन । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथी गौरीगञ्ज गाउँपालिका उपाध्यक्ष थापा, विशिष्ट अतिथी गौरीगञ्ज १ का वडाध्यक्ष कार्तिकलाल राजवंशीसहित विशिष्ट व्यक्तित्वहरुले सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए । त्यसैगरी जिवनको तीन दशक लामो समयदेखि निरन्तर बिद्यालय कर्मचारीका रुपमा रहेर बिद्यालय , बिद्यार्थीहरुको उन्नतीमा योगदान गरेको भन्दै बिद्यालय कर्मचारी भीम प्रसाद खनाललाई नगद ५ हजार रुपैयाँसहित दोसल्ला र सम्मान पत्रबाट सम्मान गरिएको थियो ।

सशक्त नारी सम्मान सीतालाई

सोही कार्यक्रममा भूत पूर्व शिक्षक स्वर्गीय मोहन ओलीकी जिवन संगिनी सीता ओलीलाई भूतपूर्व बिद्यार्थी समाजले एक सशक्त र संघर्षशील नारीका रुपमा सम्मान गरेको छ । हाल विर्तामोड बस्दै आएकी सीता स्वास्थ्यकर्मी समेत हुन ।

पूर्व शिक्षक ओलीको कार्यरत रहेको अवस्थामानै २०६१ साल चैत्र १० गते सडक दुर्घटनामा परि निधन भएको थियो । उनको निधनपछि नाबालक ३ जना छोरीहरुको लालनपालन र शिक्षा दिक्षासंगै सामाजिक क्षेत्रमा पुरयाएको योगदानको कदर गर्दै उनलाई संस्थाले सम्मान गरेको आयोजक संस्थाका उपाध्यक्ष सुवास मोक्तानले जानकारी दिए ।

कार्यक्रममा प्रमुख अतिथी थापा, विशेष अतिथी वडाध्यक्ष राजवंशी, गाउँपालिका शिक्षा अधिकृत केशव भट्टराई, सम्मानितहरुका तर्फबाट पूर्व प्रधानाध्यापक बराल, महाभारा गाविसका तत्कालिन उपाध्यक्ष देवेन्द्रनारायण राजवंशी, पूर्व बिद्यार्थी एवं प्याव्सन सुनसरीका अध्यक्ष विष्णु कोइराला, बिद्यालयका पूर्व अध्यक्ष पर्शुराम काफले, पूर्व बिद्यार्थी कल्याण दाहाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सो अवसरमा संस्थाको साधारण सदस्यता वितरण समेत शुभारम्भ गर्नुका साथै सो बिद्यालयबाट पहिलो पटक एसएलसीमा सहभागी ८ जना भूपू बिद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रममा समाजका सहसचिव राजु निरौलाले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन सचिव भवानी काफलेले गरेका थिए ।

असंगठित रुपमा रहेका सो बिद्यालयका भूपू बिद्यार्थीहरुले ६/७ बर्ष अघिदेखि विभिन्न सेवामुलक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु गर्दै आएकोमा गत बर्ष फागुन ३ देखि संगठित रुपमानै त्यस किसिमको कार्यक्रम गर्दै आएका छन ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here