देशमा गम्भीर राजनीतिक सङ्कट : अध्यक्ष दाहाल

0
232

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले देशमा अहिले गम्भीर राजनीतिक सङ्कट देखापरेकोले यसको निकासका लागि जनतामाझ आएको बताउनुभएको छ । सो पार्टीद्वारा आज यहाँ आयोजित ‘प्रतिनिधिसभा विघटनविरुद्ध विरोधसभा’मा उहाँले ‘प्रधानमन्त्रीले संसद् विघटन मात्र गरेको होइन लोकतन्त्र माथि नै हमला गर्नुभएको छ’ भन्नुभयो ।

पार्टी एकीकरण भएको तीन वर्ष नपुग्दै बीचमै पार्टी फुटेको चर्चा गर्दै अध्यक्ष दाहालले सरकार र पार्टीको नेतृत्व आलोपालो गर्ने सहमतिलाई लत्याइएको बताउनुभयो । आवश्यक परे सभामुखले संसद् बोलाउने र संसद् चलाउने चर्चा गर्दै उहाँले सरकारले देशमा भ्रष्टाचार गर्नेलाई पक्षपोषण गरेको आरोप लगाउनुभयो ।

अध्यक्ष दाहालले पार्टीमा दुईतिहाई बहुमत रहेकोले यो पार्टी हाम्रो हो भन्दै सर्वोच्चले लोकतन्त्र र संविधानको भावनाअनुसार फैसला गर्ने विश्वास व्यक्त गर्नुभयो । नेपाली जनतालाई रोजगार र सम्मान दिलाएर नै छाड्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले भन्नुभयो, “सबैभन्दा ठूलो अदालत जनता नै हो, त्यसैले जनता माथि आफ्नो भरोसा छ ।”

सोही पार्टीका अर्का अध्यक्ष माधवकुमार नेपालले देशभर प्रतिगमनविरुद्ध आवाज उठिरहेको चर्चा गर्दै संविधानसभाले निर्माण गरेको संविधानको घाँटी न्याक्ने काम भएको बताउनभयो । उहाँले पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले आन्दोलन, सङ्घीयता र लोकतन्त्रलाई सिध्याउने खेल भएको बताउनुभयो । उहाँले संसद् विघटनको सम्बन्धमा सर्वोच्च अदालत संविधान र जनताको भावनाअनुसार फैसला गर्ने विश्वास आफूमा रहेको भन्दै निर्वाचन आयोगले पनि नियम र कानूनअनुसार निर्णय गर्ने भएकोले पार्टी हाम्रै पक्षमा रहने दावी गर्नुभयो ।

सोही पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीको केन्द्रीय र स्थायी कमिटिमा आफूहरुको पक्षमा दुइतिहाई बहुमत रहेकोले निर्वाचन आयोगले सोहीअनुसार पार्टीको वैधानिकता प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले जनआवाजलाई सर्वोच्च अदालत र निर्वाचन आयोगले पनि सुन्नुपर्ने धारणा राख्दै संसद् विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई संविधानले नदिएको दावी गर्नुभयो । कार्यक्रममा सोही पार्टीका नेता योगेश भट्टराई, शिवकुमार मण्डल र भीम आचार्यले सरकारको कदमले मुलुकमा द्वन्द्व निम्त्याउने बताउँदै उक्त कदम सही नभएको तर्क गर्नुभयो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here