कोरोना कहर : महामारिको चौतर्फी असर

0
1005

✍विष्णु  चुडाल पाण्डे

२०१९ डिसेम्बर २९ का दिन चिनको बुहानबाट जन्मिएको कोरोना भाइरस झन्डै बर्ष दिन बित्न लाग्दा पनि अझै नियन्त्रण हुन सकिरहेको छैन। कोरोना महामारी ( कोभिड १९) को अन्त्य कहिले र कसरी हुन्छ त्यो पनि कुनै टुंगो छैन। तर्सथ यो रोग विरुद्ध सबैले लड्नुका साथै रोकथामका उपायहरु अवलम्बन गर्नुपर्दछ । महामारीले विश्व हल्लाउँदै गरेको यो जटिल परिस्थितिमा सन्सारका शहर बजारहरु सुनसान अवस्थामा पुगेका छ्न्। सबै मानिसहरु माहामारी सगं सतर्क रहनु परेको छ। यस्तो कठिन परिस्थिति कहिले सम्म हो ? के छ तेस्तो यसमा ? आखिर यसले मानवजाती प्रतिको घमण्डीपन लाई तह लगाइ घुँडा टेक्न बाध्य बनायो। समय समयमा साबुन पानीले हात धुन सिकायो । आफन्त साथिभाइहरु बिचमा दुरि कायम राखिदियो। जबकी एक मानिसले अर्को मानिसलाई देख्ना साथ झस्किने अवस्था सम्म बनाइ दियो।

सयौ बर्षदेखि मनाउदै आएका चाडपर्व , उत्सव सबै त्याग्न बाध्य बनायो। मनोरञ्जनका क्षेत्रहरु नाटकघर, दोहोरीसाँझ , फिल्महल, महल, रेस्टुरेन्ट , पार्टी प्यालेस, बैंक , वितियसंस्था र विद्यालयहरु सबै खाली गरिदियो। एउटै देशका विभिन्न स्थानमा पनि फरक फरक नियम बनाइ दियो । आफन्तको मृत्यु हुँदा छेउ पर्न नमिल्ने दुरि पनि गजबले बडाइदियो। कोरोनाको महामारीलाई भोकले रोक्न सकेन संक्रमणको बिस्तार बिस्वभरि छ। अहिलेको अवस्थामा आम मानिसलाइ उत्तर रोग भन्दा भोक ठुलो हो भन्ने हरेक प्रसङ्गमा यस्तै टिप्पणी आउन थालेका छन्। यसका कारण नेपालमा गरिबी र बेरोजगार दिनानुदिन बढीरहेको छ। यसको असर देशको अर्थतन्त्रमा बृहत रूपमा परिरहेको छ। हाल नेपालमा करिब ६ महिना सम्म लगातार बन्दबन्दीको कारण नेपालीहरु ठुलो मर्कामा परेका छन्। लामो समय मुलुक बन्दका कारण दैनिक ज्यालादारिमा काम गर्ने मजदुर वर्गलाई एक छाक टार्न समस्या भएको छ। महामारीको सिकार भोग्दै गर्दा मुलुकले विभिन्न प्राकृतिक बिपत्ति पनि भोग्नु परेको छ। प्राकृतिक विपद बाढि पहोरोका कारण धेरै मानिसले अकालमा ज्यान गुमाइरहेका छन्। देशका सबै उद्योग धन्दा कलकारखाना बन्द भएका कारण रोजगारीका अवसरहरु गुमाउनु परेको अवस्था छ। रोजगारि पाउनेको पनि तलबमा कटौती गरिएको छ।

कोरोना कहरको उच्च जोखिमका कारण बन्दाबन्दिको सुरुमा उत्साहका साथ भारतबाट प्रबेस गरेका धेरै ब्यक्तिहरु नेपालमा राम्रो काम पाए भारत नफर्कने सोच बनाएर स्वदेश फर्केका नेपाली ४ महिना पनि पूरा नहुदै खिन्न मुद्रामा दैनिक गुजारा चलाउन समस्या भएकै कारण फेरि भारत तर्फनै फर्किए। बरु परदेशमा अलपत्र परेका नेपालिहरुले महामारीको समयमा केही राहत त पाए तर नेपालमै बसोबास गरेका नेपालीले कुनै किसिमको सेवा सुबिधा भने पाउन नसकेकाे अवस्था छ । यो भन्दा ठुलो दुख के होला ? अन्य जिल्लाको तुलनामा हेर्दा काठमाडौं जिल्लामा संक्रमणको जोखिम उच्च छ। कोरोना कहर र लकडाउनका कारण शहरी भेगबाट ३५ प्रतिशत मानिसहरु गाउँतिर पलायन भएका छन्। ६५ प्रतिशत भन्दा बढी मानिसहरु ग्रामीण क्षेत्रमा बसोबास गर्दैछन। तसर्थ राज्यले तत्कालै उनिहरुको जिवनस्थर सुधारका लागि ग्रामीण विकासका अवधारणाहरु अगाडी सार्नु पर्दछ।

नेपाल कृषिप्रधान देश हो यहाँका अधिकांस मानिसहरु कृषिमा निर्भर छ्न्। पशुपालन , तरकारी खेती, माछापालन , नगदेबाली, फलफूल खेती , मौरीपालन जस्ता व्यावसायमा संलग्न किसानहरुलाई महामारीले ठुलो नोक्सानी पुर्याएको छ भने अर्कोतर्फ मल बिउको अभावको कारण समयमा खेती लगाउन नपाउदा किसानहरु चिन्तित छ्न् । अलि अलि उत्पादन भएको वस्तु पनि बजार भाउ नपाउदाको पिडा आम किसानमा तेतिकै छ । आज पनि देशमा बहुसंख्यक किसानहरु कृषि क्षेत्रमा आवद्ध छन्। परम्परागत एवं निर्वाहमुखी कृषि प्रणालीलाई व्यावसायिक र आधुनिक प्रणालीमा रूपान्तरण गर्दै कृषि क्षेत्रको उत्पादन व्यावसाय तथा बजारीकरणमा विशेष ध्यान दिनु पर्दछ। अहिलेको जटिल अवस्थामा देशभित्र औपचारिक क्षेत्रमा झन्डै २६ लाख र अनौपचारिक क्षेत्रमा काम गर्ने मजदुर ४४ लाख छन् । केन्द्रिय तथ्यांक विभागका अनुसार दैनिक ज्यालादारी गरेर परिवार पाल्नेको संख्या झन्डै १६ लाख छ। लकडाउनको प्रभावले अहिले काम गर्ने अवस्था छैन। काम नहुदा दैनिक हातमुख जोडन गाह्रो छ। दैनिक कमाइका स्रोतहरु बन्दको असरले दैनिक रूपमा आवश्यकताका साधन जुटाउन नसक्दा कतिपय परिवारमा मनमुटाब सिर्जना भएको छ। ऋणको तनावले जस्ले आत्महत्या मात्र गरेनन् कि श्रीमती सङ्गै छोरा र कुकुरको समेत हत्या गरे। कोरोना कहरको समयमा ब्याप्त कालोबजारी राज्यको संरक्षणमा भएको भ्रष्टाचारको खबर अर्कोतिर न्युनतम आधारभुत आवश्यकताको अभावमा अकालमा ज्यान गुमाउनु पर्ने अवस्था सिर्जना भएको छ। जसका कारण आम नागरिकलाई सरकार बिहिनताको अवस्था महसुस भएको छ।

महामारी नियन्त्रण मात्र होइनकी राज्यको जिम्मेवारीमा पनि सरकार चुकिरहेको छ। जोखिमका कारण नेपालको अर्थतन्त्र रेमिटेन्समा ठुलो क्षती पुगेको छ। नेपाल भ्रमण बर्ष २०२० पनि कोरोना महामारीका कारण रद्ध भएको छ। हवाईउडान र यातायात बन्दका कारण पर्यटक भित्र्याउने अवस्था पनि छैन। त्यस्तै शिक्षा क्षेत्र पनि शैक्षिक सत्र ब्यबस्थापन र परिक्षा जस्ता कुरामा झन्डै ६० लाख विद्यार्थीको भबिस्य अझै अन्योलमा रहेको छ। तसर्थ अबको विकल्प के हुन सक्ला ? बर्तमान परिस्थितिमा आम नागरिकको मनमा सायद यिनै प्रश्नहरु छन्। यो संक्रमण कहिले सम्म लम्बिएला ? कति मान्छेको मृत्यु होला ? यो रोगको खोप बन्ला या नबन्ला , देशको अर्थतन्त्रको पाटो के होला ? यसले नेपाललाई कस्तो असर गर्ला ? यो महामारी कसरी नियन्त्रणमा आउला ? यस्ता धेरै प्रश्नको जवाफ हामीसङ्ग छैन । जसका लागि हामी समय कुर्न बाध्य छौं ।

अन्त्यमा , कोभिड १९ ले अहिलेको वैज्ञानिक मानव सभ्यतालाई समेत चुनौती दिएको छ। महामारीको कहरका कारण नेपालमा आवश्यक पर्ने विभिन्न स्रोत र साधनहरुको निर्माण कृषिमा औधोगिकिकरण र प्रविधिको विकास उत्पादनमा जोड दिन राज्यलाई चुनौती र अवसर दिएको छ। जसका कारण कामको खोजीमा सहर र बिदेश तर्फ फर्किनु पर्दैन भने अर्को तर्फ बर्सेनि बढदो ब्यापार घाटा कम गर्दै देश भित्रै आर्थिक अवसरहरुको खोजी गर्न आवश्यक छ। विश्व ब्यापी कोरोना संक्रमण र खाध्य संकटको अवस्थाका कारण राज्यको यो घडीलाई हेर्दा र भोग्दा लाग्छ कतै यो सिङ्गो मानव सभ्यता ढुङ्गे युगतिर फर्कने क्रममा त छैन ? सामाजशास्त्रीहरुले भन्ने गरेको मानिस एक समाजिक प्राणि हो भन्ने कथनको पुनर्ब्याख्या पो गर्नु पर्छ की ।तसर्थ गरिबीको चपेटामा फसेका नागरिक तथा रोजगार गुमाउन बाध्य भएका मजदुर वर्गलाई राहत पुग्ने सामाजिक सुरक्षाका विभिन्न कार्यक्रमहरु जति सक्दो चाडेै अगाडि ल्याउन आवश्यक छ।

लेखक रत्नराज्य लक्ष्मि क्याम्पस मानवशास्त्र केन्द्रिय विभागमा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थी हुन।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here