तिमी कुन थर, जात र धर्म ?

0
1935

                                                     मलाइ फेसबुकको मनपर्ने एउटा पाटो भनेको आफूलाई लागेको कुरा स्वतन्त्र ढँगले साथिभाईमाझ राख्न पाउनु हो । विषयबस्तु जुनसुकै होस व्यक्तिगत रुपमा कसैलाई असर पर्दैन भने आफूलाई लागेको कुरामा साथिभाइसँग छलफल र बहस गर्नुलाई म राम्रो पक्षमा लिन्छु र बेला बेला म आफ्नो फेसबुक वालमा स्टाटस पोस्ट गरिरहन्छु ।  पोस्ट गर्नुको उद्येश्य त्यस विषयमाथि छलफल होस भन्नेमात्र नभई मनको बह पोख्ने ठाउँ पनि हो मेरो लागि । आफूलाई लागेको कुरा लेख्ने रहर र बानी पुरानै हो मेरो । जतीबेला मलाई मोबायल बोक्ने अनुमती थिएन त्यो बेला डायरिमा लेखेर राख्ने गर्थे । आफूले डायरिमा लेखेर पठाएका शब्दहरु ३ महिनापछि स्थानीय पत्रीकामा प्रकासीत हुँदाको खुशीनै बेग्लै हुन्थ्यो । पत्रीकामा आफ्नो सानो फोटो र नाम देख्दा मन फुरुङ्ग , अझ कसैले पत्रीका बोकेर आएर आफूभन्दा बढी खुसी हुँदै तिमिले लेखेको रैछौ नी भन्दा त निकै ठूलो उपाधी जितेझैँ खुसी लाग्थ्यो , जे होस अब यि कुराहरु सम्झनामै सिमित छन् ।

कुरा गरौ फेरि फेसबुक पोस्टकै केहिदिनअघिको कुरा हो मामाघरमा सत्यनारायणको पुजा थियो अनी म पाती चढाउँन पुजामा बसेकी थिए, आमाले आफ्नो मोबायलमा केही तस्बीरहरु समेट्न भ्याउनुभएछ । साँझमा मलाई आफ्नो तस्बीर सम्झनास्वरुप फेसबुकमा राख्न मन लाग्यो अनी पोस्ट गरे ‘धर्म=सत्य ” लेखेर फोटोसहित । एकैछिनपछी एकजना मित्रको कमेन्ट आइहाल्यो “तामाङ्गले हिन्दु धर्म मान्छ की के हो ? उत्तर नगरि बस्न मन लागेन “मन्दीर र गुम्बा दुवै ठाँउ पुज्छु म” मेरो उत्तर लगत्तै फेरि उही साथिको प्रश्न “तामाङ्ग र भट्टराई भएर होला”? यती हेरेपछि मुसुक्क हाँसे कुरा सकीयो । तिमि के थरि हो ? हिन्दु धर्म मान्छौ की बौद्य? यो प्रश्न नयाँ होइन मेरो लागि । मैले आफूलाई चिन्न थालेदेखि यो प्रश्न मलाई हरेक दिन कोही एकले सोधेकै हुन्छ ,यदि कुनै एकदिन यो प्रश्नको उत्तर मैले कसैलाई दिनुपरेन भने सायद त्यो कुरा चाँही नौलो होला मेरो लागि । पछिल्लो दिनमा केही नयाँ भनेको मलाई प्रश्न गर्ने शैली हो जस्तै, पहिले नानु तिमि के थरि ? अनी तिम्रो मामली चाँही ? अहिले, नानु तिमि के थरि? अनि तिम्रो माइति ? मामलको ठाउँ अहिले माइतले लिएको छ । अनुहारको बनौट हेरेर चिन्नुपर्ने कुन समुदायको भनेर ।

जात धर्मको कुरामा हाम्रो समुदायमा सँधै विवाद चलिरहेकै छ , अग्रज र विशिष्ट व्यत्तिहरुले आफूलाई ठीक लागेको कुरामा चर्को आवाज उठाइरहेकै छन् । खैर मलाई यहाँ के ठीक के बेठीक र कसले कहाँ के गरिरहेको छ भन्दापनि नितान्त आफ्नो भोगाइ सुनाउँन मन लागेको हो । कहीलेकाँही मलाई पनि प्रश्न गर्न मन लाग्छ आखीर थरमा के छ? केही वर्ष अघिको कुरा हो दमकको चोकमा र्याली निस्कियो कुनै पार्टी विषेश रैछ “यो देश कसको मँगोलको , क्षेत्री बाहुन कहाँको बिदेशको” कुनै एउटा पार्टीको यो नारा सुनीसकेपछि मलाई याद आयो मेरो बुबा तामाङ्ग अर्थात मँगोल अनि मेरि आमा सिटौला अर्थात क्षेत्री –बाहुन अब मैले के बुझे भने यदि हरेक क्षेत्रमा जात र धर्मको नाममा छुट्याउँदै र छुट्टीदै जाने हो भने सुरुवात मेरो घरबाट हुनेरहेछ र बिखण्डनको सुरुवात मेरो बा–आमाबाट ।। पछिल्लो समय रुकुम घटनाले गर्दा जातीय विभेदमाथि धेरै प्रश्नहरु उठ्यो । केहि दिन सामाजिक सञ्जालमा तहल्का नै मच्चियो अनी फेरि साम्य । सामाजिक सञ्जालमा हरेक दिन कुनै न कुनै एउटा नयाँ विषयले तहल्का मच्चाएकै हुन्छ चाहे त्यो बहस गर्न लायकको विषय होस या नहोस, विषयबस्तु परिवर्तन भइनैरहन्छन् तर कतिपय महत्वपूर्ण विषयमा तबसम्म आवाज उठाइरहनुपर्छ जबसम्म पिडितले न्याय पाउँदैन, जे होस रुकुम घटनाको सहि छानबिन होस र दोसीलाई कारबाही होस । जातीय विभेद बिरुद्व परिवर्तन पक्कै भयो होला कागजमा र शहरमा केहीहदसम्म तर हाम्रो सँस्कार र सोच जाहीँको त्यही ।

आज समाजको भन्दा पहिला मेरो घरको कुरा गर्न मन लाग्यो । जात–धर्मको कुरा गरिरहदा आजभन्दा पच्चीस वर्ष पहिले मेरो बा–आामाले अन्र्तजातिय विवाह गर्नुभएको हो , यो विषयमा धेरै सवाल–जवाफ बा–आामासँग पनि भयो होला यसका बाबजुद पनि आजसम्म बा–आामाले यो जात र त्यो जातमा यती फरक हुन्छ भनेर आफ्नो सन्तानलाई कहिल्यै भन्नुभएन । म जुन वातावरणमा हुर्कीए त्यहाँ मेरो लागि रातो टीका र सेतो टीकामा कहिल्यै फरक परेन, मन्दीर र गुम्बा कहिल्यै फरक भएन, गुनीउ लाउ की लुङ्गी तिम्रो इच्छा , अर्थात तिमिले यो मात्र रोज्नुपर्छ यो अवस्था कहिल्यै आएन , यो स्वतन्त्रतता मेरो घरको कुरा भयो जसले गर्दा मैले जात र धर्ममा कहिल्यै फरक देखिन र हेर्न पनि खोजिन । तर जसै मेरो थर सोधेपछि मेरो अनुहार हेरेर हाँस्न सुरु भयो, अनी मैले गरेको उत्तरमा “हो र”! भन्ने प्रतिप्रश्न सुरु हुन थाल्यो तबमात्र मलाई थरमा के छ? भन्ने कुराको महसुश हुन थाल्यो । मेरो अनुहार हेरेर मेरो थर मिलाउने बाजी राखेको र मेरै थर÷समुदायको कार्यक्रममा सहभागि भैरहँदा तिमि कुन समुदायबाट भन्ने प्रश्नको सामना गर्नुपरेको उदाहरण मसँग धेरै छन् तर पनि मलाई यि शब कुराले कहिल्यै निराश बनाएन बरु एक किसिमको आनन्द नै मिल्थ्यो । त्यतीबेला यो कुरामा खासै ध्यान नदीए पनि आज चाहीँ यो कुरामा केही सोच्न म बाध्य हुन्छु, कारण पछिल्लो समय मलाई सोधीने प्रश्नहरु ।

केहिसमय अघि मेरो विवाह भयो अन्र्तजातीय (मँगोल र ब्राहमण) अनि नितान्त रोजि विवाह , आफैले रोजेर । दुवैले आफ्नो परिवारलाई आफ्नै तरिकाले मनायौ कुनै नाइनास्तीले रोकेन । परिवारबाट आजसम्म जात धर्मको कुरा लिएर तिमि यस्तो भन्ने मैले सुन्नुपरेको छैन । तर म त यहि समाजमा छु जसले निकै उत्सुकताका साथ प्रश्नहरु सोधेकै हुन्छ, अनी साँच्चै तिमिलाई घरमा भित्राए त ?तिमि भान्सामा छीर्छौ? तिमिलाई तिम्रो घरमा राम्रै गर्छन् त ? सँस्कार त मिल्दैन नी है ? जातै नमिलेपछि त केहि चल्दैन……यावत प्रश्नहरु । थाहा छैन यति धेरै उत्सुकता कीन? हुन त तिमिले गरेको प्रश्न बाट त्यो कुराप्रतीको तिम्रो धारणा झल्कीने हो । शबैको विचार एउटै हुनुपर्छ भन्ने जरुरी पनि छैन र तिमिले भोगेको परिवेश र मैले भोगेको परिवेश उस्तै हुन्छ भन्ने पनि छैन । हरेक कुरामा आ–आफ्नो भोगाई अनुसार आ–आफ्नै परिभाषा हुन्छ तथापी मेरो जात र धर्ममाथि प्रश्न गरिरहनेलाई एउटै उत्तर छ मेरो कसैले भनेका छन् “जन्मदै कोही ब्रमहाण र शुद्र पक्कै हुँदैन” हुर्कीएको वातावरण र सँस्कारमा भर पर्ने कुरा हो त्यसैले अन्त्यमा मेरो जात मानव हो र मेरो धर्म सत्य हो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here