प्रधानमन्त्रीलाई पीसीआरमा भन्दा बेसारमा विश्वास छ, कोरोनाले छुँदैन र छोए पनि टिक्दैन

0
482

काठमाण्डौ – ढिलो गरी नेपाल पसेको कोरोना सितिमिति नेपाल छोड्ने पक्षमा छैन । यहाँको हावापानी, चालचलन, उपचार पद्धति, सरकारी पारा र नागरिकको चाला देखेर कोरोना आफैं अलमलमा छ । आफुसित लड्न सरकार र नागरिक संसारमा चलेकाभन्दा भिन्न कार्यशैलीमा अघि सरेपछि कोरोना अलमलिएको मात्र छैन, अचम्मको रनभुल्लमा परेको छ ।

यो देशका प्रधानमन्त्रीलाई पीसीआरमा भन्दा बेसारमा धेरै विश्वास छ । नागरिकलाई चाहिँ घरभित्र भन्दा सडकमा र भिडभाडमा गए कोरोनाले छुँदैन र छोए पनि टिक्दैन भन्ने आत्मविश्वास छ ।

विश्वास र आत्मविश्वास यति धेरै भो कि सरकारले कोरोनालाई भुसुनो जति भाउ दिएन । कारोनालाई भुसुनो नठान्ने सरकारलाई नागरिकले पनि भुसुनोभन्दा गतिलो ठानेनन् । कमिलाको भन्दा बढी भाउ दिएनन् । कमिला र भुसुना त देख्नसम्म सकिन्छ, तर कोरोनालाई न देख्न सकिन्छ, न छुन र छाम्न पाइन्छ । छाम्न नसकिनेलाई छामेर केही हात लाग्दैन, देख्नै नसक्नेलाई गनेर, हिसाब गरेर बस्ने कुरा भएन ।

सबैभन्दा पहिले सर्वज्ञान सम्पन्न प्रधानमन्त्रीको कुरा गरौं ।

हाम्रा प्रधानमन्त्री के मात्र होइनन्, सबैथोक हुन् । प्रधानमन्त्री त यसै हुन्, पार्टी अध्यक्ष पनि हुन् । राजनीति गर्छन्, नेता हुन् । कमेडी गर्छन्, कमेडियन हुन् । खेलका कुरा सबै थाहा छ, खेलाडी पनि हुन् । विज्ञान र आविष्कारका कुरा गर्छन्, वैज्ञानिक हुन् । गीत लेख्छन्, गीतकार हुन् । कविता लेख्छन्, कवि हुन् । सारंगी रेट्छन्, बाँसुरी बजाउँछन्, तबला ठोक्छन्, संगीतकार हुन् । गीत गाउँछन्, राग आलाप्छन्, गायक हुन् । आकाशदेखि पातालसम्मको लेखाजोखा गर्छन्, ज्योतिष हुन् । गरुड पुराणदेखि महाभारतसम्म कण्ठ पारेको जसरी सबै ग्रन्थका कथा सुनाउँछन्, पुराण बाचक पण्डित हुन् । हावाको गति र हिमालको चिसो जोडेर वायुको आयु बताउँछन्, पानीको बहावको जाँचबुझ गर्छन्, जलवायु र मौसम वैज्ञानिक हुन् । ढुंगामा शिलाजित देख्ने पाषाणविद्र हुन्र । शीलाजीतमा पाेषाण देख्ने पोषणविद् हुन् । माटोमुनि फलाम, खनीज र पेट्रोलको खानी देख्ने भूगर्भ वैज्ञानिक पनि हाम्रै प्रधानमन्त्री हुन् ।

हर्रो, बर्रो, टर्रो, शिलाजित, यार्सागुम्बा, तितेपाती, अदुवा, बेसार, कागतीका केस्राकेस्रा, पातपात, जरो टुप्पो जोडेर घण्टौ प्रचन दिनसक्ने झारबुटी विज्ञ पनि हुन् । नेपालीमा रोग प्रतिरोधात्मक क्षमता छ भन्ने कुराको आविष्कार गर्ने र संसदमा प्रतिपक्षबाट पनि सो तर्कलाई प्रमाणित गराउन सक्ने हाम्रा प्रधानमन्त्री रोग प्रतिरोधात्मक क्षमताका आविष्कारक विशेषज्ञ पनि हुन् ।

कोरोनालाई जडिबुटी, ढिंडो, अदुवा, बेसारले ठिक गर्छ भन्ने ठोकुवा गर्न सक्ने विश्व स्वास्थ संगठनका डाक्टरलाई पनि चकित पार्न सक्ने महाडाक्टर पनि हुन् । त्यसैले प्रधानमन्त्रीलाई पीसीआरभन्दा बढी बेसारमा विश्वास छ ।

अहिलेसम्म बेसारमा कोरोना लागेको थाहा छ ? छैन । त्यसो भए बेसार खानेलाई कोरोना लाग्ने कुरै भएन । जसलाई कोरोना लाग्यो, उसले बेसार कम खायो । हिमालमा कोरोना उक्लिएको थाहा छ ? छैन । हिमालमा कोरोना उक्लनै सक्दैन भने हिमालको, विश्वको सर्वोच्च शिखर सगरमाथाको देशमा बस्नेलाई कोरोना लाग्दैन । जसलाई लाग्यो, उसले हिमाल बिर्सियो, सगरमाथाको माया गरेन ।

अनि नदी खोलामा कोरोनाले पौडी खेलेको थाहा छ ? छैन । अनि कोरोनाबाट मुक्त तिनै नदी र खोलाहरुमा डुबुल्की मार्दै, त्यहीँका पानीले खेतबारी भिजाउँदै, मूल र धाराका पानी पिउँदै आएका नेपालीलाई कहाँबाट कोरोना लाग्छ त । जसलाई लाग्यो, तिनले नेपालका नदीनाला, खोला, कुवा र छहरेलाई बिर्से ।

अनि जडिबुटी र झारपातमा कोरोना सल्कन्छ ? सल्कँदैन । त्यसो हुँदा जडिबुटीको धनी देशमा बस्नेलाई कोरोना पनि सल्कँदैन । जसलाई सल्क्यो, तिनले जडिबुटीको महत्व बुझेनन् ।

हिमालमा ठोक्किनुअघि नै कायल भएको, ठोक्किसकेपछि बरफ भै झरेको स्वच्छ चिसो हावा लिने नेपालीको वरपर कोरोना पर्नै सक्दैन । अनि ढिंडो, खुर्सानी, बेसार, अदुवा लगायत कडा मसला हालेको दाल खाएर फाल ठोक्नेहरुसँग त कोरोना त्यसै तर्सन्छ ।

हजार जिब्रा भएको शेष नागले बर्णन गर्दा एकजुगमा नसकिने अनेक विशेषता र ज्ञानले सम्पन्न हाम्रा प्रधानमन्त्रीको ज्ञान, पाण्डित्य, साधना र चतुष्ज्ञानको महिमा सुनेर नेपाल पसेको कोरोना रन्थनिएको छ भने भारतबाट आएको कोरोना थला पर्न थालेको छ । हाम्रा प्रधानमन्त्रीका लवालव ज्ञानले भरिपूर्ण भाषण सुनेरै कोरोना रन्थनिएको छ । हो भनौं भने होइन, होइन भनौं भने यति धेरै ढुक्क छ ।

सर्वज्ञाता प्रधानमन्त्री रहेको देशका नागरिक झन् चानचुने हुने कुरै भएन । नेपालीलाई थाहा छ, घरमा बसेर कोरोना जितिंदैन । खाटमा, पिंढीमा र आँगनमा लडेर कोरोनासँग लडेको ठहरिंदैन । लड्न त सडकमा जानुपर्छ । त्यो पनि डाक्टर प्रधानमन्त्री बस्ने छेउछाउमै । अन्त गएर लड्न खोज्दा एक्लै भइन्छ, प्रहरी आउँदैन ।
प्रधानमन्त्री बस्ने छेउछाउमा पुगेर जिस्कायो भने प्रहरी आउँछ । लौरोले ठटाउँछ, पानीको फोहोरा बर्साउँछ । घरमा बस्दाबस्दा वाक्क भएको तन, मनमा भिन्नै उर्जा मिल्छ । कोरोना भेटेर उसैसँग लडेको महसुस हुन्छ ।

लौरो, पानीको फोहोरा, धकेलाधकेल, मुक्कामुक्की भए पो लडेजस्तो हुन्छ । घरमा बसेर कोरोनासँग लड्नु रे ! यस्तो पनि कुहीँ हुन्छ ! कोरोनालाई भगाउन त बाहिर निस्कनुपर्छ । हुल बाँधेर बालुवाटार जानुपर्छ । भूतप्रेत, धामीझाँक्रीको भेषमा बुरुकबुरुक उफ्रनुपर्छ । कोही ठिटा हेर्न गएका, कोही ठिटी हेर्न गएका । जे जे गर्न गएका भए पनि सरकारको विरोध गर्न गएका । सरकारको विरोध गर्न नपाएको धेरै भयो, सकेको गर्नुपर्छ । कोरोना सकिएपछि विरोध गर्ने निहुँ नपाइन सक्छ । अहिले त जता फर्के पनि निहुँ नै निहुँ छ । निहुँ पाएको बेला निहुँ खोजेन भने के मज्जा ? अहिले मज्जा नलिए पछि पछुतो लाग्ला । सरकार र कोरोनालाई तर्साउने बेला नै यही हो । त्यसैले हुल बाँधेर सडकमा बुरुकबुरुक गर्नेको पारा देखेर पनि कोरोना आफैं छक्क परेको छ ।

अझ अब त जोर गाडी भएकालाई जोर दिन र बिजोर गाडी भएकालाई बिजोर दिन कोरोनाले नछुने भयो । बिहान बेलुका बजार जानेलाई त पहिलेदेखि नै कोरोनाले देखे, नदेखे गरेरै छाडेको हो । अब बिस्तारै उसले नेपालीलाई सडक, बजारमा ठाउँ छोडिदिन्छ । सरकार र नागरिकले जे जे भन्यो, त्यही मानिदिन्छ । सडकमै निस्कनेसँग राजा त डराएर दूला पसे, जाबो कोरोनाको के कुरा !

मिलन तिमिल्सिनाले उज्यालाे अनलाइनमा लेखेका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here