समाजमा जबसम्म वर्गहरु रहिरहन्छन्, तबसम्म वर्ग प्रतिनिधिका रुपमा राजनीतिक दलहरु रहिरहन्छन् । वर्ग रहेसम्म वर्ग टकराव वा स्वार्थहरुको विचमा सङ्घर्ष चलिरहन्छ ।
यो समाज विकास वा भनौं वर्ग संघर्षको स्वाभाविक र अनिवार्य नियम पनि हो । यसैले एउटा कम्युनिष्ट पार्टी जहिलेसुकै वर्गसंघर्षको क्रम–उपक्रमवाट गुज्रिरहेको हुन्छ। विश्व कम्युनिष्ट आन्दोलनका महान गुरु कार्लमार्क्स र फेडरिक एङ्गेल्सले सन् १८४८ मा कम्युनिष्ट घोषणापत्र जारी गर्दा पहिलो हरफमै संसारको आजसम्मको इतिहास वर्गसंघर्षको इतिहास हो भनेर शुरुवात गरेका छन् ।
एउटा कम्युनिष्ट पार्टीको जीवनमा वाह्य हिसाबले जसरी वर्ग संघर्ष महत्त्वपूर्ण छ ठिक त्यसैगरी आन्तरिक हिसाबले अन्तरसंघर्ष त्यत्तिकै महत्त्वपूर्ण छ । पार्टी र आन्दोलनलाई केन्द्रमा राखेर ठिक ढंगले संचालन गरिने अन्तरसंघर्षले नै पार्टीको जीवन र गतिलाई निर्धारण गर्दछ। त्यसैले पार्टीभित्र संचालन हुने अन्तरसंघर्षबट हामीले आत्तिनु हुँदैन। बरु तथ्यबाट सत्य अन्वेषण गर्ने उपयुक्त विधिका आधारमा अघि बढ्न एउटा कम्युनिष्ट कार्यकर्ताले आफूलाई हमेसा तयारी अवस्थामा राख्नुपर्दछ ।
माओत्सेतुङले कुनै पनि वस्तुको विकास र विनासको प्रधान कारण आन्तरिक नै हुन्छ भनेर जोड दिएका छन् । यस मानेमा पनि एउटा कम्युनिष्ट पार्टीमा अन्तरसंघर्ष चल्नु आवश्यक छ । त्यसैले हामीले आन्तरिक बहसदेखि भाग्ने हैन, दृढतापुर्वक सामना गर्नुपर्दछ । बरु त्यस सन्दर्भमा विर्सनै नहुने कुरा चाहिँ के भने वहस र छलफल सञ्चालन गर्दा त्यो विधिसम्मत र संस्थागत हुनु अनिवार्य छ । स्वाभाविक रुपमा कुनै पनि कम्युनिष्ट पार्टी समाजबाट अलग रहन सक्दैन । समाजमा देखिने अन्तर्विरोध र प्रवृत्तिहरु पार्टीभित्र प्रतिबिम्बित हुन्छ । पार्टीभित्र धेरै मानिसहरु भएपछि विविध बिचार हुनु स्वभाविक हो । बिचारको मन्थन बहस र छलफलबाट हुन्छ। यतिबेला हाम्रो पार्टी नेकपाभित्र पनि एउटा बहसको सुरुवात भएको छ । यो सुखद पक्ष हो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कार्यकर्तामार्फत जनतामा धाधारित पार्टी भएको हुँदा जनताका क्रिया प्रतिक्रिया यसमा प्रतिबिम्बित हुनु स्वभाविक छ । यतिबेला संघ, प्रदेश र स्थानीय तह गरि तीनवटै सरकारमा नेकपाको वर्चस्व रहेकाले हरेक तहका नेतृत्वको गतिविधि र आचरणहरुले जनतामा पार्टी र नेतृत्वको चित्र तयार हुन्छ र क्रमशः त्यसले जनमतको रुप लिँदै जान्छ । सुचना प्रविधि , आमसंचार र सामाजिक सञ्जालको आजको युगमा जनताले के भनिरहेका छन् भनेर सहजै बुझ्न सकिन्छ । त्यसैले शिरदेखि तिरसम्म, वडा कमिटीदेखि पार्टीको केन्द्रसम्म, वडा सरकारदेखि सिंहदरबारसम्मका हाम्रा हरेक गतिविधि र क्रियाकलाप जनताको प्रत्यक्ष चासो र निगारानीभित्र रहिरहेका हुन्छन् । जनअदालतको त्यो कठाघरामा हामीले खरो रुपमा उभिन हरपल तयार रहनै पर्दछ ।
हाम्रो सरकारले जनताको विकासको आकांक्षा, सामाजिक सुरक्षाको प्रत्याभूति र मजदुर किसानको समस्याको समाधानमा कुनै कसर बाँकी राख्नुहुदैन । तर, पछिल्लो चरणमा सरकारप्रति जनगुनासो र आलोचना बढिरहेको छ । हरेक क्षेत्रमा अपेक्षाकृत परिणाम नदेखिएका कारण जनतामा निराशा बढ्दै जान थालेको छ । हामी सबैले बुझ्नुपर्दछ कि एजेण्डा पार्टीको भएपछि उक्त एजेण्डामाथिको जनमत पनि पार्टीको नै जनमत हुन्छ । यसको मतलब एजेण्डा निर्माण गर्ने नेतृत्वको भुमिकालाई नजरअन्दाज गर्नुपर्छ भन्ने हैन । तर, जब सवाल पार्टीको आउँछ तब व्यक्ति गौण बन्छ र पार्टी नै प्रधान हुन्छ । पुष्पलालले सदैव नेताप्रधान नभएर नीतिप्रधान पार्टीमा जोड दिएको सन्दर्भ यहाँनेर स्मरणीय छ ।
भनिन्छ इतिहासले सिक्नलाई बाध्य पार्दैन तर नसिक्नेहरुलाई दण्डित गर्दछ । इतिहासले आफैं सिकाउँदैन, यसबाट सिक्नुपर्छ । एकताबद्ध नेकपाका दुवै साविक पुर्व पार्टीले आ–आफ्ना अलग–अलग इतिहास मात्र हैन, दुवैले दुवैका इतिहास स्मरण र अध्ययन गर्नु जरुरी छ । २०५४, २०५६, २०६४, २०७० र २०७४ वरिपरिका सबै घटनाक्रमहरुबाट पाठ सिक्न जरुरी छ । पुरानै बाटो हिँड्ने भए समयले दण्ड दिनेछ र हामी दण्डित हुनेछौं । दण्डित नहुने हो भने सिक्न अनिवार्य छ । हामीलाई दण्डित हुने छुट किमार्थ छैन ।
पार्टीभित्र गलत प्रवृत्तिका बिरुद्ध निर्ममतापुर्वक खडा हुने र असललाई दृढतापुर्वक आत्मसात गरेर मात्र एउटा सच्चा कम्युनिष्टको भुमिका पुरा गर्न सकिन्छ । पुरानो धरातल र सोचाइबाट सिर्जना भएका समस्याको समाधान पुरानै उपचार शैलीबाट हुँदैन । एउटा निश्चित विधिभित्र रहेर व्यापक बहस, सत्यको खोज, नयाँ आधारमा नयाँ एकताको सच्चाईलाई आत्मसात गरेर मात्र आजको समस्याबाट पार पाउन सकिन्छ । सामुहिक नेतृत्व र संस्थागत निर्णयको बिधिले मात्र पार्टीलाई एकताबद्ध बनाउन सकिन्छ । एकताबद्ध पार्टीले मात्र पार्टी र सरकारको कामलाई प्रभावकारी बनाउन सक्छ । निर्णयपूर्व छलफलमा ब्यापकता र निर्णय पश्चात् कार्यान्वयनमा एकरुपता आजको केन्द्रीय आवश्यकता हो । पार्टी र सरकारले गर्ने हरेक महत्त्वपूर्ण निर्णयहरु गर्दा सवैको स्वामित्व हुनेगरी गरियो भने मात्र ती निर्णय कार्यान्वयनमा सबैको प्रभावकारी तत्परता हुन्छ । यो पक्षलाई असाध्यै ख्याल गर्नुपर्दछ ।
कुनैपनि बिचार र एजेण्डालाई लागू गर्न एउटा शक्तिशाली पार्टीको जरुरत पर्छ । पार्टी संगठनहरूले बन्छ । संगठनमा व्यक्तिहरु सहभागी हुन्छन् । कम्युनिष्ट पार्टीमा व्यक्ति संगठनको मातहत, तल्लो कमिटी माथिल्लो कमिटीको मातहत, अल्पमत बहुमतको मातहत, सम्पूर्ण कमिटीहरु केन्द्रीय कमिटीको मातहत, केन्द्रीय कमिटी महाधिवेशनको मातहत र महाधिवेशन देशैभरिबाट छानिएका प्रतिनिधिहरुको मातहत रहन्छ। पार्टी संचालनको सर्वोत्तम र वैज्ञानिक विधि यही नै हो । यसलाई सबैले दह्रोसँग आत्मसात गर्नु जरुरी छ ।
अहिले नेकपामा उत्पन्न समस्यालाई पनि यही विधि र प्रणालीबाट हल गर्नुपर्दछ । नेपालमा स्थापनाको ६८ वर्षसम्म कम्युनिष्ट पार्टीले दुईतिहाइ त के एकपटक सामान्य बहुमतसम्म कहिल्यै ल्याएको थिएन । तर, वाम एकता भएपछि दुनियाँलाई चकित पार्दा एकैपटक दुईतिहाई नजिकको बहुमत ल्याएको छ । नेकपाप्रतिको नेपाली जनताको यो आशा , भरोसा र विश्ववासलाई खेर जान नदिन सबै उठौं, सबै जुटौं ।
(लेखक नेकपा १ नं. प्रदेश कमिटीका सदस्य हुन् )