फरिया, सपना र बूढो नाविक

0
542

बाँस्कोटा धनञ्जय   केपी शर्मा ओली २०७२ मा ३८ औं प्रधानमन्त्रीको रुपमा प्रधानमन्त्रीमा नियुक्ति भए पछि हिमशिखर टेलिभिजनको ‘मेजर इस्यू’ कार्यक्रममा केपी ओली सरकारका अवसर र चुनौति बिषयमा बोल्ने क्रममा मैले भनेको कुरा आज स्मरण गर्दै यो आलेख सुरुवात गर्दैछु । उसबेला मैले भनेको थिएँ

‘राष्ट्रियताको संकट, मधेस आन्दोलन, नयाँ संविधानको कार्यान्वयनको राप र तापमा बनेको सरकार हो यो ।’

राष्ट्रवाद
स्वभिमानी राष्ट्रवादलाई ‘नून तेलको राष्ट्रियता’संग दाँज्न मिल्दैन । त्यही भएको थियो उसबेला । भोकै परे, तर भारतसंग नझुक भने जनताले । देशलाई मायाँ गर्नेहरुले उनलाई आशिर्वाद दिए, संविधान निर्माणमा हिरो बनेका शुशील कोइरालाई धिक्कारे जनताले । स्वयं काग्रेसका नेता तथा कार्यकर्ता खुशी भएनन् शुशील कोइरालादेखी । शुशीलको नेगेटिभ सेन्टीमेण्ट ओलीलाई गयो ।
अनौठो तुलना
राष्ट्रियताको कुरा गर्दा राजा महेन्द्रदाई संझन्छन् धेरैले, तथापि उनी मन पर्दैनन् तर उनको राष्ट्रियतालाई सम्मान गर्छन् । त्यही साकार पार्न ल्याकत केपी ओलीमा छ । महेन्द्रले हिन्दी भाषाका पाठ्यपुस्तकहरु नेपालीमा उल्था गरेर नपढाएको भए आजको यो सभ्यता हिन्दीमय हुन्थ्यो । महेन्द्रले नेपाल राष्ट्रबैंकको स्थापना गरेर भारु रुपैयाको साटो नेपाली रुपैया चलाउनु पर्छ भन्दा उसबेला कांग्रेस रिसाएको थियो । भारत रिसाएको थियो । त्रिभूवन विश्वबिद्यालय स्थापना गर्दा धेरै रिसाएका थिए । यो इतिहास कस्ले पढ्छ ? भारतले भारतको सिमाना हिमालय पर्बत सम्म हो भन्दा बीपीले भारतका प्रधानमन्त्रीलाई माफ माग्न लगाएका थिए । देश जोगाउन मेलमिलाप थालेका थिए ०३३ सालमा । ओली त्यही भूमिकामा उभिएका थिए । जनताको उसबेलाको बुझाइ त्यही थियो ।
अनौठो संयोग
राजनैतिक रुपमा अछुत ठानिएका कमल थापा र ओलीलाई प्रश्न उठाउने प्रचण्ड एकै ठाउँमा उभिएर ओलीलाई गल लगाए । यो जोक थिएन, संयोग थिएन । यो राष्ट्रियताको कथाले मागेको दृष्य थियो । नाकाबन्दी देश थलिएको थियो । देशको कथाले त्यही दृष्य माग्यो । ओली त्यस कथाका नायक बने ।
ओलीका चुनौतीहरु
नयाँ संविधनको सफल कार्यान्वयन गर्नु थियो । भारसंगको संबन्ध, नाकाबन्दी, र साउथ ब्लकको चित्त बुझाउने काम डल्लेै थियो । दलीय एकता कायम गर्नु थियो, जुन संविधान निर्माणमा नभत्किएको प्रधानमन्त्री निर्वाचनमा भत्किन पुग्यो ।
गठबन्धन सरकारको सञ्चालनमा पीडा थियो । फरक एजेण्डा बोकेका दलहरुलाई पिठ्ूयँमा बोकेर हिडदा जतिखेर पनि लडन सकिन्थ्यो । यही भयो नेपालको राजनैतिक इतिहासमा । दरवार र चीनको सुमधुर संबन्ध यस्तै अप्राकृतिक थियो र अन्तत चीन दरवारको भविष्यसंग बेखवर भयो । गठबन्धन सरकार सञ्चालनको कुरुप संस्कृति त झनै टल्कियो पटकपटक । भुकम्प पछिको पुःनिर्माण सुस्ताएर नेपालको इज्जत सिन्किँदै गयो । तिनीहरु आफै तारा गनेर रात काटदैथिए । राहत नामको सपनाको पोको आफै तिनहरुकामा पुगेको थिएन ।

मधेस आन्दोलनको कुरुप बिम्बले पचास दिन काट्यो, र चार दर्जन जतिले ज्यान गुमाएको रातो रगतले पोतिएको त्यो इतिहासलाई संबोधन गर्नु पनि थियो ।र अन्त्यमा प्रचण्ड र माधव नेपालको ब्यावस्थापन गर्नु थियो । इतिहास साक्षी छ । प्रचण्डको उत्तरआधुनिकता उच्च छ, उनी सबैभन्दा अस्थिर छन् । यो चुनौती थियो । त्यो भन्दा पनि नेकपाभित्र उनको घैंटाको घाम । महत्वकांक्षि बामदेव गौतम, पितुर्के माघव नेपाल र जवजसंग संधै फरक विचार राखेर आफुलाई संधै भिन्न र सर्वौपरि बनाइराख्न जे पनि गर्न सक्ने झलनाथ खनालको दोहोरी गीतमा संगीत भरेर मुस्कुराउने प्रचण्डको ब्यावस्थापन सबैभन्दा गम्भीर थियो । सरकारको कामको बिपक्षि दलले भन्दा बढी आलोचना गरेर, पार्टीलाई सरकारको बिरुद्धमा उभ्याउने कसरत देखियो ।

लोकतन्त्रमा पार्टीको नीति सरकारले अवलम्बन गर्ने हो, कम्युनिष्ट शासन ब्यावस्थामा जस्तो सरकारमा पार्टी हस्तक्षेप गर्दै जाने होइन । भ्रष्टाचार संस्थागत गरेर, जहाँ पनि पार्टीको आडमा भएको सबै निन्दनीय कार्यहरुको भारी सरकारले बोक्नुप¥यो । प्रधानमन्त्रीको अधिकार हनन गर्ने, कामक गर्न नदिने, देशमा संधै अस्थिरता निम्त्याउने र नेपालमा स्थाई सरकार टिक्दैन भनेर असफल राष्ट्र बनाउन र संसराभर बदनाम गर्न लागिपरिरहेका मानिसहरुको चंगुलमा छ देश । हिजो महान परिवर्तन भनेर देश लुटियो, आगो लगाइयो ।

संक्रमणकाल भनेर देश लुटियो । संबिधान भनेर लुटियो । अनि उत्पादन जिरो बनाएर पाचास प्रतिशत मुद्रास्फिति बनाइयो । र साथसाथै द्वन्द्वका बाछिटाहरु बिश्वभर छन्, यसले कुनै पनि बेला खतराको घण्टी बजाउनेछन्, र सत्यनिरुपण तथा मेलमिलाप आयोगको कार्य तुरुन्त सम्पादन गरेर त्यो पाण्डोराको बाकसलाई सदाका लागि बन्द गर्न ओली सरकार सक्षम हुन जरुरी थियो । यी सव कुरा छाडेर ‘आफ्नै सरकार गिराउने’ हिजो जुन काम कांग्रेसले गरेको थियो, आज त्यही कार्यको पुनराबृति हुन गइरेहको छ । उसोभए जनताले यी दुई वटा दललाई विश्वास नगर्ने ? उस्तै हुन भन्ने ? बिकल्प के त ? हङ् पार्लियामेण्ट बनाएर सांसदहरुलाई किनबेच थाल्ने ? आज म फर्किएर हेर्दैछु र हेर्दैछु उसबेलाका ओली सरकारका अवसर र चुनौतीहरु र अहिलेको तीतो कथा । अनि म संझिरहेको छु बिसौं शताब्दीका अमेरिकी कवि ‘वालेस स्टिभेन्स’ को कविता डिसइल्यूजमेण्ट अफ टेन ओक्लक (दश बजेको मोहदंश) । कविता यस्तो छ

सेता रात्री फरियाहरुले
ती घरहरुलाई तर्साइरहेछन् ,
ती सव बेरङ्गीछन्
हरिया छैनन् कुनै
अथवा हरिया घेरामा बैजनी छैनन्
अथवा पहेंला घेरामा हरियो छैनन्
अथवा नीला घेरामा पहेंलो छैनन्
मोजाको तुनाले बाँधिएका
अनि मालाको तुनाले कसिएका नीरस फरिया ।
मनिसहरु सिर्प आरुबखडा

बाँदरको सपना देख्न लाग्दैछन् ।
मात्रै यता त्याता, एउटा बूढो नाविक
मातेर आफ्नै जुत्तामा निदाउँछ
र रातो मौषममा
बाघहरु समात्छ ।

यो कविता हेर्दा सरल छ, तर यसले मानिसहरु, त्यसमा पनि महान भनिनेहरु कसरी रित्तो र निरर्थक जीवन जिइरहेका हुन्छन् भन्ने कुराको उजागर गरेको छ । ती घरहरुलाई भूतले तर्साएको छ, अर्थात त्यहाँ बस्ने मानिसले भूतको भूमिका निर्वाह गरिरहेकाछन्ः निर्दयी, चिसो, रित्तो, मृत, नीरस सेता फरियाहरु भिरेको प्रेत, रंगबिहिन अर्थात भावाबेग बिहिन मानिसहरुको आश्रम बनेकाछन् ती घरहरु, यी घरहरु र त्यसभित्र सुन्ने मानिसहरु । त्यहाँका मानिसहरु नीरस बाँच्छन् । सिर्फ बाँदर र आरुबखडाको सपना देख्छन् । तर त्यो नाविक बेग्लै छ, ऊ जोशीलो (रातो) मौषममा बाघ समातेको सपना देख्छ किन कि ऊ धेरै यात्रा तय गरिसकेको बूढो नविक हो ऊ, जहाज चलाउने र ऊ त्यही भूतको घरमा पनि आरामले सुतेको छ । आपत पर्दा ऊ फाल हानेर भाग्न सक्छ, पानीमा पौडिएर जोगिन सक्छ । ऊ शान्त छ, त्यसैले ऊ सौम्य र बलवान छ । र ऊ अरु चटपटेहरु जस्तो छैन । उसलाई कसैले फकाउन पनि सक्दैन, धम्क्याउन पनि सक्दैन, रुवाउन पनि सक्दैन । मान मर्दन गर्न पनि सक्दैन । ऊ सुन्दर कुरा मनभरी साँचेर निदाउँछ र मीठो सपान देख्छ ।
त्यो बूढो मान्छे हाम्लाई पनि चाहिएको थियो । तर छैन । हामीले केपी ओलीलाई त्यो बूढो मान्छेको भूमिका दिएर यो देशको जहाज चलाउने अख्तियारी दियौं । तर जहाजमै दूलो पार्नेहरु जहाजमै बसेपछि, अनि पाइलटको हात समात्न खोजे पछि हुने त दुर्घटना नै हो । आज झन चुनौती थपिएका छन् । मैले उसबेला भनेको कुरा आज संझदैछु ।

किनभने परिस्थिति उही देख्दै छ । तत्वहरु उही छन् । अवसर उही छन् । चुनौती उही छन् । र हाम्रा घरहरु, अर्थात हाम्रो समय भूतघारीको बिम्बमा उभिएर चौवाटोमा कराउँदैछन् ‘खबरदार, हाम्ले जोगी बन्न राजनीति गरेको होइन ।’ र हामी तिनलाई सडक सडकमा फुलमाला लिएर स्वागतार्थ उभिरहेकाछौं घण्टौंदेखि ।

याे लेख बाँस्कोटा धनञ्जय  काे फेसबुक बाट साभार गरीएकाे हाे ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here