Sunday, November 24, 2024
Home Blog Page 327

ओली र राईलाई सार्वजनिक मुद्धा

दमक/ जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएका विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय नेता हेमन्तप्रकाश ओली र पदम राईलाई प्रहरीले सार्वजनिक मुद्दा चलाउने तयारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गररे मुद्दा दर्ताको प्रक्रिया अगाडि बढाएको मोरङका प्रहरी प्रमुख एसपी अरुण बिसीले जानकारी दिए । चारदिनदेखि नेताद्वय ओली र राई जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका छन् ।
गत फागुन ६ गते पार्टीको युवा स्वयंसेवक संघको राष्ट्रिय भेला हुने क्रममा प्रहरीले नेता ओली, राईसहित २ सय ९१ जनालाई विभिन्न ठाउँबाट पक्राउ गरेको थियो । पक्राउ परेका अन्य सोही दिन बेलुका छुटे पनि ओली, राई र कुमार खतिवडालाई भने प्रहरीले छोडेको छैन । खतिवडालाई जबर्जस्ती चन्दा मागेको आरोपमा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा ल्याइएको छ । हिरासतमा रहेका नेता राईले आफूहरुलाई प्रहरीले म्याद थपकालागि पक्राउ पूर्जी थमौतिको प्रयास गरे पनि हस्ताक्षर गर्न अस्वीकार गरेको बताए । नेता राईले आफूहरुलाई झुठा मुद्दा लगाएर फसाउने प्रयास भइरहेको बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

बजारका तरकारीमा विषाधि प्रयोग, नगरपालिकाले अनुगमन नगरेको गुनासो

दमक/ बजारका सब्जीमा अत्यधिक विषाधि रहेको र दैनिक खानामा प्रयोग हुने तरकारी स्वास्थ्यका दृष्टिकोणले यो स्तरको जोखिममा हुँदा पनि कुनै अनुगमन, नियमन नभएको भन्दै उपभोक्ताले नगरपालिकाप्रति आक्रोस ब्यक्त गरेका छन् ।
पछिल्लो समय शहरी क्षेत्रका मानिसहरुले हरेक दिन दैनिक साग सव्जी खाँदा अत्याधिक बिष खाइरहेको विहिवार दमकमा भएको एक कार्यक्रमका उपभोक्ताहरुले बताएका हुन् ।
दमक नगरपालिकाको आयोजनामा कृषि सम्बन्धी दुई दिने तालिमको बुधवार भएको समापन कार्यक्रमका वक्ताहरुले सो कुरा बताएका हुन ।

शहर क्षेत्रका बासिन्दाले हरेक दिन किनेर खाने सव्जी बाट मानव स्वास्थ्यमा प्रवेश गरेको विषले पछिल्लो समय मानिसमा मुटु, डिप्रेशन, नपुंशक र क्यान्सर जस्ता खतानाक रोगहरु बढ्दै गएको तालिमका प्रशिक्षकहरुले बताएका छन् ।
शुन्य बजेटमा प्राकृतिक खेती प्रणाली सम्बन्धी तालिमले कृषिमा विषादीको प्रयोग हटाउने उदेश्यले तालिम दिएको दमकनगर पालिका कृषि विभाग शाखाका बाली विकास अधिकृत तालिमका सहजकर्ता गोविन्द प्रसाद आचार्यले बताए ।
दमक नगरपालिका लाई विषादी मुक्त बनाउने लक्ष्य तथा नीति अनुसार सवै वडाका अगुवा कृषक प्रतिनिधिहरुलाई तालिम दिइएको तालिमका अर्का प्रशिक्षक कृषिविज्ञ इन्द्र प्रसाद अधिकारीले बताए ।
तालिमले रसायनिक मल र विषादीको प्रयोगले मानव स्वास्थ्यमा पार्ने असरबारे बुझ्न र सचेत हुन उपयोगी भएको सहभागी शान्तिराम भट्टराईले बताए । तालिमले अर्गानिक उत्पादनकालागि वीऊ विजन र मल उत्पादनमा ठूलो सहयोग पुग्ने सहभागी योगमाया सुवेदीले बताइन् ।
तालिममा कृषि विज्ञहरु रन्जन सिंह र दिपेन्द्र पौडेल सहित ४ जनाले फरक फरक विषयमा प्रशिक्षण दिएका थिए ।
भर्खरै मात्र भारतबाट आयात गरिएका तरकारीमा निर्धारित मापदण्डभन्दा सात सय ५० गुणासम्म विषादी पाइएको र भारतमै त्यस्ता तरकारीको उपभोगसम्बन्धी विवाद चलिरहँदा तरकारी नेपाल भित्रिँदा सरकार आवश्यक चनाखो नभएको गुनासो पनि उपभोक्ताले गरेका छन् ।
नेपालबाहेक भारतमा उत्पादन हुने करेला, आलु, भन्टा, परबल, सिमी, बोडी, मटर, फर्सी, काउली, बन्दा, काँक्रो, भेडेखुर्सानी, हरियो, खुर्सानी, भिँडी, आँप, स्याउ, अंगुरलगायत तरकारी र फलफूलमा अत्यधिक विषादी भेटिएको समाचार यस अघि नै सार्वजनिक भइसकेपनि नगरपालिका र उद्योग वाणिज्य संघ कानमा तेल हालेर बसेको भन्दै गुनासो कार्यक्रमका बक्ताहरुले गरेका छन् ।

नेपाली उपभोक्ताको ज्यानै जाने गरी भारतबाट अत्यधिक विषादी र आर्सेनिकयुक्त तरकारी खुलेआम भित्रिरहेको छ । मानव स्वास्थ्यलाई हानि गर्ने भन्दै केही राष्ट्रले भारतीय तरकारी तथा फलफूल आयातमा प्रतिबन्ध लगाइरहँदा नेपालमा भने परीक्षणबिनै निर्वाध आयात र बिक्री–वितरण भइरहेको हो ।
भन्सारको तथ्यांकअनुसार भारतसहित तेस्रो मुलुकबाट चालु आर्थिक वर्षको पहिलो ६ महिनाको अवधिमा ११ अर्ब ३६ करोड ७९ लाख १७ हजार मूल्यबराबरको चार लाख १६ हजार सात सय ६१ टन (४१ करोड ६७ लाख ६१ हजार एक सय १३ किलो) तरकारी आयात भएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

संरक्षक नहुँदा रुख हराउन थाले

दमक/ दमकको उत्तरी क्षेत्रमा रहेको हंसे दुम्से सामुदायिक बन क्षेत्रबाट संकलन गर्न बाँकी रहेका रुखहरु धमाधम हराउँन थालेका छन् । सयममा निर्वाचन नभएर बन रेखदेखमा भएको कम्जोरीको फाईदा उठाउँदै संकलन गर्न बाँकी रुखहरु रातारात हराउँनथालेको उपभोक्ताहरुले गुनासो गरेका छन् ।
झापाका १० ठूला बन मध्य पर्ने बनमा ९ महिना अघिनै हुनु पर्ने निर्वाचन हालसम्म हुन नसक्दा रेखदेख गर्ने जिम्मेवार समितिको अभावमा चोरी भएको इलाका बन कार्यालय बेलडाँगीका रेन्जर राजेश घिमिरेले बताए ।
घिमिरेले कार्यालयमा आवश्यक दरबन्दीका कर्मचारीको अभाव र बनको आधिकारिक समितिको निर्माणमा ढिलाइका कारण चोरी निकासी नियन्त्रण गर्न नसकिएको बताए ।
गएको बर्षातमा आएको ठूलो हावा हुरीले ढालेका टिपोट गरिएका ५ सय २२ रुखहरु मध्ये २ सय ४ वटामात्र संकलन गरिएको सामुदायिक बनले जानकारी दिएको छ । बाँकी रहेका ३ सय बढी विभिन्न प्रजातिका रुखहरु अहिले बनमा न्यून संख्यमा मात्र भेटिने गरेको स्थानीय सामाजिक अगुवा गणेश चाम्लिङ्ग राईले बताए ।
बन क्षेत्रमा ढलेका अधिकांश रुखहरुको फेदको भाग मात्र रहेको र बाँकी चोरी भएको बताइको छ । यता बनका अध्यक्ष हिमालय प्रसाद दाहालले चोरी बढेको स्वीकार गर्दै नियन्त्रणकालागि तत्काल पहल गर्ने बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

आधुनिक किचन आइटम र कलरको नयाँ पसल उद्घाटन

दमक/ दमकमा आधुनिक किचन आइटम र कलरको नयाँ पसल खुलेको छ । दमकका ब्यवसायी नविन अग्रवालले जेसिज मार्ग फनिचर लाइनमा मंगलवार एक कार्यक्रम विच नयाँ मोडेलका किचन आइटम र कलरको पसल उद्घाटन गरेका हुन् ।

हेर्नुहोस् उद्घाटन कार्यक्रमका झलकहरु 

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

इलम प्रशिक्षण केन्द्रलाई दाताले दिएको जग्गा नै हरायो

दमक/ दमक उद्योग वाणिज्य संघको प्रत्येक चुनावमा मुख्य चुनावी नारा बन्ने गरेको इलम प्रशिक्षण केन्द्र बनाउने भनिएको जग्गा नै गायब भएको छ । प्रतेक चुनावमा प्रतिबद्धता पत्रको पहिलो बुँदा बन्ने गरेको इलम प्रशिक्षण चुनाव जितिसकेपछि संघको नेतृत्व गर्दै आएकाहरूको बेवास्ताले केन्द्रको भवन र जग्गामाथि चलखेल भएको रहस्य खुलेको छ ।
इलम प्रशिक्षक केन्द्र दमकलाई दाताले दिएको जग्गा हराएपछि दमक उद्योग बाणिज्य संघ समेत विवादमा फसेको छ । दमक ८ स्थित स्थानीय श्यामप्रसाद श्रेष्ठले निःशुल्क दान गरेको जग्गा हराउनुका पछि संघको नेतृत्व र पूर्व नेतृत्वहरु माथिनै प्रश्नचिन्ह देखा परेको हो ।
जग्गा हराएपछि केन्द्रको भौतिक पूर्वाधार निर्माण गर्न नसकिएको उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालले बताए । संघले अहिले जग्गा खोजी कार्यलाई तीव्र पारेको भनिएपनि ठेगान लगाउन नसक्नुले अवका चुनावमा मुख्य नारा नै परिर्वतन गर्नुपर्ने अवस्था आएको भन्दै उद्योग बाणिज्य संघका पदाधिकारीहरु नै खिल्ली उडाइरहेको एक पदाधिकारीले बताए  ।
इलम प्रशिक्षण केन्द्र बनाउन श्रेष्ठ परिवारले ०६१ फागुन १३ गते १० कट्ठा जग्गा केन्द्रको नाममा पास गरिदिएको थियो । १३ वर्षपछि अहिले जग्गा नाप गर्दा ७ कट्ठामात्रै देखिन्छ । अध्यक्ष ढकालले उद्योग वाणिज्य संघलाई १० कट्ठा जग्गा प्राप्त भए पनि अहिले ७ कट्ठा मात्रै रहेको बताए । उनले जग्गाको नक्सा भने साढे १२ कट्ठाको रहेको बताए । ‘हामीलाई दाताबाट १० कट्ठा जग्गा प्राप्त भएको थियो । तर, अहिले ७ कट्ठामात्र देखिन्छ,’ ढकालले भने, ‘बाँकी ३ कट्ठा जग्गा कहाँ हरायो भनेर हामी खोजी गरिरहेका छौं ।’ उद्योग वाणिज्य संघले जग्गा कहाँ हरायो भनेर मालपोतसँग खोजी गर्न समेत नसकेको हो या नभ्याएको ब्यवसायीहरुको प्रश्न छ ।
पुरानो जग्गाधनी दर्ता प्रमाण पुर्जाअनुसार श्रेष्ठ परिवारले साविकको कित्ता नं. ११२५ बाट ३ धुर र कित्ता नं. ११२७ बाट ९ कट्ठा १७ धुर गरी १० कट्ठा जग्गा दान गरेको उल्लेख छ । तर, ०७२ मंसिर २ गते जारी भएको नयाँ जग्गाधनी दर्ता प्रमाण पुर्जामा ७ कट्ठा जग्गा मात्र उल्लेख छ । ‘कागजी रूपमै जग्गा गायब भएपछि हामी एक वर्षदेखि जग्गा खोजी गरिरहेका छौं,’ इलम प्रशिक्षण केन्द्र भौतिक पूर्वाधार निर्माण उपभोक्ता समितिका संयोजक विमल खतिवडाले भने । उनले ‘दाताले जग्गा दिँदा चार कुना मिलेको थियो । अहिले त्यस्तो छैन । करोडभन्दा बढी मूल्य पर्ने संस्थाको जग्गा हराउनु गम्भीर कुरा हो ।’ उनले जग्गा हराएको थाहा पाएपछि पुनः नाप गर्न नापी कार्यालयलाई पत्रचार गरे पनि नापीबाट कर्मचारी नआएको गुनासो गरे ।
उक्त जग्गा पूर्वपश्चिम राजमार्गदेखि ५ सय मिटर दक्षिणमा पर्दछ । स्थानीयका अनुसार अहिले उक्त स्थान आसपासमा प्रतिधुर दुई लाखभन्दा बढीमा जग्गा किनबेच भइरहेको छ । संघका पूर्वअध्यक्ष र दाता परिवारबीच भएको बैठकमा हराएको भनिएको जग्गा बाटोमा परेको भनी दाता परिवारले भनेको अध्यक्ष ढकालले बताए ।
‘मैले तपाईंहरूलाई १० कट्ठा जग्गा दान गरेको हुँ । ३ कट्ठा जति बाटोमा गयो । बाँकी जग्गा त्यहीं छ,’ दाता श्रेष्ठले भनेको कुरा उद्धृत गर्दै ढकालले भने । ढकालले केन्द्रलाई १० कट्ठा जग्गा पूरै भोगचलन गर्ने गरी जग्गा प्राप्त भएको दाबी गरे । ‘हामीलाई १० कट्ठा जग्गा दिए पनि नक्सा साढे १२ कट्ठाको थियो । दुई–अढाई कट्ठा जग्गा बाटोमा पुर्ने र १० कट्ठा पूरै केन्द्रलाई हुने गरी जग्गाधनी दर्ता प्रमाण पुर्जा प्राप्त भएको हो,’ ढकालले भने, ‘तर अहिले नक्सा पनि फरक देखिन्छ । हाम्रो जग्गा पनि गायब छ ।’
इलम प्रशिक्षण केन्द्र पछिल्लो पाँच वर्षदेखि बेवारिसे अवस्थामा छ । स्थानीय युवालाई औद्योगिक सीप सिकाउने उद्देश्यले नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ र दमक उद्योग वाणिज्य संघको संयुक्त लगानीमा केन्द्र सञ्चालनमा ल्याइएको थियो । ०६१ देखि ०६८ सालसम्म जेनतेन सञ्चालन भए पनि त्यसपछि आवश्यक पहल नहुँदा केन्द्र बेवारिसे बनेको हो । २० लाख लागतमा निर्माण गरिएको तालिम हलसहितको दुई कोठे केन्द्रको भवन अहिले संरक्षणको अभावमा जीर्ण बनेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

करोडौका सौर्य बत्ती विग्रीए

इलाम/ इलामको सडकमा जडान गरिएका सौर्यबत्तीे ६ महिना पनि नबित्दै काम नलाग्ने भएका छन् । सडकको छेउमा राखिएका बत्ती केही बल्ने पिलपिल बल्ने र केही नबल्ने भएका हुन् ।
बत्ती नबलेका कारण रातको समयमा पैदल हिड्न र गाडी लिएर हिड्न समस्या भएको इलाम नगरपालिका–७, का स्थानीय दिपेन्द्र चापागाईले बताए ।
बत्ती मिलिक्क मिलिक्क चम्किँदा सवारी चालकको ध्यान नै बत्तीतिर जाने गरेको र त्यसले दुर्घटनाको जोखिम बढेको चापागाई बताउँछन् ।
इलाम नगरपालिकाले पनि बत्तीको समस्यामा खासै चासो नदेखाएको स्थानीयको गुनासो छ । सडकमा जडान गरिएका २ सय ३ वटा सडक सौर्य बत्तीमा आधाभन्दा बढी कामै नदिने गरी बिग्रिएका छन् ।
शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यलयले भने समस्या सामाधान गर्न काम सुरु गरेको बताएको छ । रातको ११ बजेदेखि बिहान ३ बजेसम्म बत्तीलाई चार्ज गर्न बत्ती डिममा बालिने, घरी बल्ने घरी निभ्ने समस्या भएकालाई पुरै बल्ने बनाउने कार्य सुरु गरेको जनाएको छ ।
इलाम सदरमुकाममा भएका पोलमा जडान गरिएका सडक बत्ती नबलेपछि अध्यारोमुक्त सडक बनाउन गएको साउनमा २ सय ३ वटा सडक सौर्य बत्ती जडान गरिएको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

विद्युत चोरी नियन्त्रणमा कडाइ

दमक/ नेपाल विधुत प्राधिकरण दमक वितरण केन्द्रले विधुत चोरी नियन्त्रण अभियान तिव्र बनाएको छ ।
गएको ६ महिनायता मात्र अभियान अन्तर्गत विभिन्न क्षेत्रका ८० जनालाई कार्वाही गरी सकेको विधुत चुहावट फाँट सुपर भाइजर महेश दाहालले बताए ।
४ वटा संकलन केन्द्र र १४ वटा काउन्टर रहेको सो केन्द्रबाट कार्वाहीमा परेकाहरुबाट १७ लाख २६ हजार ५ सय ९ रपयाँ रकम असुल गरेको बताइएको छ । मिटर वाईवास, हुकिङ्ग, मिटर विगारेर चोरी गर्नेलाई विधुतचोरी नियन्त्रण ऐन अनुसार कार्वाही तथा जरिवाना गरिएको केन्द्रका लेखाअधिकृत मदन पौडेलले बताए ।
उपभोक्तालाई सहज विधुत उपलव्ध गराउने उद्देश्यका साथ केन्द्रिय नीति निर्देशन अनुसार अभियान तिव्र पारिएको वितरण केन्द्रले जानकारी दिएको छ । चोरी खासगरी दुर्गम क्षेत्रमा हुकिङ्ग गरेर मोटर जडान र शहरी क्षेत्रमा मिटर बाइपासबाट गर्ने गरिएको पाइएको विधुत चुहावट फाँटका सुपर भाइजर दाहालले बताए । दाहालका अनुसार चोरी गर्नेको मिटर बक्स र प्रयोग उपकरण बरामद गरी दण्डगर्ने अभियान तिव्र पारिएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

पूर्वमा बन्दको आमसिक प्रभाव

झापा ८ फागुन/ नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको बन्दका कारण पूर्वमा आमसिक प्रभाव परेको छ । इलाम, झापा, पाँचथर, ताप्लेजुङमा लामो दुरीका सवारीसाधन चलेका छैनन् भने छोटो दुरीमा गाडीहरु कुदेका छन् । यसैगरी कोशी राजमार्गको धरान–धनकुटा सडक खण्डमा मंगलबार बिहानैदेखि यातायात प्रभावित बनेको छ ।
उक्त पार्टीको गत आइतबार विराटनगरमा हुने राष्ट्रिय युवा जनस्वयंसेवकको तेस्रो सम्मेलनमा भाग लिन पुगेका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको विरोधमा बन्द आव्हान गरेको जनाइएको छ। बन्दका कारण धनकुटाको जनजीवनमा आंशिक प्रभाव परेको छ। बजार, पसल, कलकारखाना आंशिक रुपमा खुलेका छन्। शिक्षण संस्था र यातायात प्रभावित बनेको छ। मोटरसाइकल, प्रेस, दुध, तरकारी बोकेको सवारी साधन भने चलेका छन्।

पक्राउ परेका नेता कार्यकर्ता रिहा नगरे कडा आन्दोलनमा जाने नेकपा धनकुटाका इन्चार्ज आकाश शर्माले चेतावनी दिएका छन्। उक्त पार्टीले अवाञ्छित गतिविधि गरेको भन्दै प्रहरीले केही नेता, कार्यकर्तालाई नियन्त्रणमा लिएको जनाएको छ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

पहाडी इलामको छुर्पीले बजार पाउन सकेन

इलाम ८ फागुन/ जिल्लामा विगत केही महिनायता छुर्पीको मूल्यमा कमी आएपछि किसान मारमा परेका छन् ।

जापान, अमेरिकालगायत देशमा निर्यात हुने गरेको छुर्पीबाट मनग्य आम्दानी लिँदै आएका छुर्पी व्यवसायी मूल्यमा कमी आएपछि मारमा परेका हुन् । प्रतिमहिना तीन टन छुर्पी बाहिर निर्यात हुने गरेको भए पनि हाल त्यसमा कमी अएको व्यवसायीको भनाइ छ ।

विगतमा व्यवसायीलाई माग पूरा गर्न धौ धौ पर्ने गरेको थियो । विगतमा प्रतिकिलो रु एक हजारमा बिक्र हुँदै आएको छुर्पीको मूल्य अहिले रु ७०० मा झरेको सन्दकपुर गाउँपालिका–४ माबुस्थित बालकृष्ण कृषि फार्मका सञ्चालक बालकृष्ण गुरुङले बताए ।

उनले भने, “लगानी डुब्ने डरले छुर्पीको उत्पादन कम गर्न थालेको छु ।” संकलन गरेर लगेको छुर्पीको रु पाँच लाख रकम नपाएपछि पाँच बोरा छुर्पी गोदाममा नै थन्काएर राखेको उहाँको भनाइ छ ।
छुर्पीबाट मनग्य आम्दानी हुन थालेपछि उद्योगको संख्यामा वृद्धि भएको छ । बजारीकरणमा प्रतिष्पर्धा भएपछि व्यापारीले गुणस्तरहीन छुर्पीसमेत संकलन गरी निकासी गरेका कारण समस्या भएको हो । अहिले विगतको जस्तो माग छैन । एकदमै थोरैमात्र निकासी भइरहेको छ ।

रामं्रोसँग छुर्पी नसुक्दा खोक्रो हुने, कुहिने, ढुसी आउने, कुकुरले खाँदा बिरामी हुनेजस्ता समस्या भएकाले छुर्पीको माग ह्वात्तै घटेको बताइएको छ । इलामका छुर्पी अन्तर्राष्ट्रिय हिमालय डेरी उद्योग बिर्तामोड, कृष्ण डेरी उद्योग झापा, हिमालय डक च्यु कलेक्सन सेन्टर काठमाडौँ, सिल्भर लिङ्क (आइएनसी) प्रालि कलेक्सन सेन्टर काठमाडौँ र एभरेष्ट प्रोडक्सन काठमाडौँलगायतबाट निकासी हुने गरेको छ ।
इलाममा ५६५ वटा दुग्धजन्य डेरी, चिज उद्योग घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय इलाममा दर्ता भई सञ्चालनमा रहेको घरेलु तथा साना उद्योग विकास समितिले जनाएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

वाम एकताबारे दुई कार्यदल गठन, मध्यरातमा ७ बुँदे सहमति

काठमाडौं/ एकीकरणका लागि ७ बुँदे प्रारम्भिक आधार तय गरेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले दुई कार्यदल समेत गठन गरेका छन् । प्रधानमन्त्री खड्ग प्रसाद ओलीको सरकारी निवास बालुवाटारमा सोमबार अबेरसम्म बसेको शीर्ष नेतासहितको एकता संयोजन समितिको बैठकले संगठनात्मक तथा विधान मस्यौदा कार्यदल र प्रतिवेदन कार्यदल गठन गरेको हो ।

संगठनात्मक र विधान मस्यौदा कार्यदलमा एमालेबाट इश्वर पोखरेल, विष्णु पौडेल, गोकर्ण विष्ट, वेदुराम भुसाल, सुरेन्द्र पाण्डे र विष्णु पौडेल रहेका छन् भने माओवादी केन्द्रबाट रामबहादुर थापा, गिरीराजमणि पोखरेल, जनार्दन शर्मा, मातृका यादव र वर्षमान पुन रहेका छन् । संगठनात्मक विधान मस्यौदा कार्यदलले संगठन लगायत पार्टी सञ्चालनका आधारभूत विषयमा टुंगो लगाउने छ ।

पार्टी एकता प्रतिवेदन कार्यदलमा एमालेबाट माधव नेपाल, भीम रावल, प्रदीप ज्ञवाली, रघुजी पन्त र सुवास नेम्वाङ रहेका छन् भने माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ, पम्फा भुसाल र देवेन्द्र पौडेल रहेका छन् ।

उक्त कार्यदलले एकीकृत पार्टीको अन्तरिम विधानको तय गर्नेछ । बैठक स्रोतका अनुसार दुबै कार्यदलले पाएको कार्यादेशअनुसार चाँडो प्रतिवेदन तयार पारेर नेतृत्वलाई बुझाउनु पर्नेछ ।

एमाले र माओवादीबीच सहमति भएका ७ बुँदे आधारपत्रमा पद बाँडफाँडका विषयमा केहि उल्लेख गरिएको छैन । यद्यपी एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीचको वान टु वान वार्तामा महाधिवेशनसम्म दुबै जना अध्यक्षको भूमिकामा रहने र ओली प्रधानमन्त्री रहने भद्र सहमति भएको बताइएको छ ।

एकताका लागि भएका प्रारम्भिक आधारपत्रमा एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी रहने उल्लेख गरिएको छ । यस्तै पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेलिनवाद रहने उल्लेख गरिएको छ ।

यसैगरी एमालेले अपनाउँदै आएको जनताको बहुदलीय जनवाद अन्तर्गत अवलम्बन गरेको शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धामार्फत् आफ्नो श्रेष्ठता स्थापित गर्ने लगायतका मान्यता र शान्ति सम्झौता र त्यसपछिका लोकतान्त्रिक अभ्यासद्वारा केन्द्रले पनि उक्त शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धामार्फत् आफ्नो श्रेष्ठता स्थापित गर्ने लगायतका मान्यता समान रहेको आधारपत्रमा उल्लेख गरिएको छ ।

सहमतिमा एमालेको जबज र माओवादी केन्द्रको माओवाद र एक्काइसौँ शताब्दीको जनवाद सम्बन्धी विषयहरुमा विधिसम्मत छलफल गरी आवश्यक परिमार्जन र विकास गर्न सकिने तथा उक्ता आधारमा टेकेर अन्तरिम राजनीतिक प्रतिवेदन एवं अन्तरिम विधान तयार पारी सोहीअनुसार एकीकृत पार्टी सञ्चालन गर्ने उल्लेख छ ।

प्राप्त उपलब्धिहरुको रक्षा र विकास गर्दै राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्याय सुदृढ गर्दै सामाजिक आर्थिकरुपान्तरणमार्फत् समाजवादको आधार निर्माण गर्ने पनि आधारपत्रमा जनाइएको छ ।
सहमतिपत्रमा एमालेका अध्यक्ष केपी ओली, नेताहरु झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम र इश्वर पोखरेलले हस्ताक्षर गर्दा माओवादीबाट तीन नेताहरु प्रचण्ड, रामबहादुर थापा र नारायणकाजी श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

गत असोज १७ गते दुई पार्टीबीच वाम गठबन्धनको घोषणा गरिएको थियो र विभिन्न चरणको छलफल हुँदै अहिलेको स्थितिमा आइपुगेएको हो ।

यसैबीच ७ बुँदे एकताका आधार तय भएसँगै नेकपा माओवादी केन्द्र सरकारमा सहभागि हुने विश्वास गरिएको छ । यसअघि एमालेले पार्टीको मार्गदर्शक सिद्धान्तमा अडान नछाड्दा माओवादीले सरकारमा जान आनाकानी गरेको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्