Friday, November 29, 2024
Home Blog Page 309

खोलामा डुबेर दुई किशोरको मृत्यु

संखुवासभा/ सिलिचोङ गाँउपालिका–१ मा खोलामा डुबेर दुई किशोरको मृत्यु भएको छ। सोही वडाको रियाम्मा गाउँका १४ वर्षीय छोरा धर्मेन्द्र राई र १३ वर्षीय बालकुमार राईको मृत्यु भएको प्रहरीले जनाएको छ।

घरबाट घाँस काट्न भन्दै गएका दुवै जनाको काईकोखोलामा पौडी खेल्ने क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।

उनीहरु साँझसम्म पनि घर नफर्किएपछि खोजी गर्दा खोलामा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

चट्याङ लागेर तीनको मृत्यु

खोटाङ/ चट्याङ लागेर खोटाङको छुट्टाछुट्टै ठाउँमा दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ का ६२ वर्षीय सम्बरबहादुर दाहाल र साकेला गाउँपालिका–२ की ५५ वर्षीया बालकुमारी खत्रीको मृत्यु भएको हो भने उनका पति प्रेमबहादुर खत्री घाइते भएका छन् ।
घरैमा बसिरहेका अवस्थामा बुधबार दिउँसो पानीसँगै परेको चट्याङ लागेर बेहोस बनेका दाहाललाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको स्थानीय गंगाबहादुर विश्वकर्माले जानकारी दिए । यस्तै, घरपरिवारलाई खाजा पकाउँदै गरेकी खत्रीको भान्छा कोठामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले बताए ।
घाइते प्रेम बहादुरको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । दुवैजनाको घरैमा परेको चट्याङले अन्य क्षति भने नगरेको स्थानीयले बताएका छन् । यस्तै उदयपुरको कटारीमा चट्याङले जलसरी राई, सीता राई, सबिना राई, खेतबहादुर सुनुवार, तारा कार्की र हीरामाया जोगको मृत्यु भएको छ । उता, भोजपुरको पौवादुम्मा गाउँपालिका ५ मा परेको चट्याङले तारा घिमिरे, घाइते भएकी छन् । वर्षासँगै परेको चट्याङ लागेर खोटाङमा दुईजनाको मृत्यु भएको छ । प्रदेश १ का अन्य जिल्लामा चट्याङले ११ जना घाइते भएका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

कालसर्प योगका नाममा ज्योतिषीले ठगेको खुलासा

२२ चैत, बुटवल/ ज्योतिष अगुवाहरु कालसर्प योगका नाममा सर्वसाधारणहरु अत्यधिक मात्रामा ठगिएको भन्दै यसको भ्रममा नपर्न सुझाव दिएका छन् ।
नेपाल ज्योतिष परिषदले बिहीबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा ज्योतिष अगुवाहरुले ज्योतिषका नाममा केही व्यक्तिले कालसर्प योगलाई भजाएर ठगी खाने माध्यम बनाएकाले भ्रममा नपर्न आग्रह गरे ।

‘कालसर्प योगका नाममा सर्वसाधारणहरु ठगिंदै आएका छन्,ज्योषित शाष्त्रमा कालसर्पयोग कही कतै उल्लेख छैन’–ज्योतिष शाष्त्रका विज्ञ प्राध्यापक कृष्ण अधिकारीले भने–‘यो अशाष्त्रीय कुरा हो,ज्योतिषका नाममा ठगी खानेहरुले फैलाएको भ्रम मात्रै हो ।’

ज्योतिष अगुवाहरुले सरकारले वैदिक सनातन र हिन्दु धर्मका अनुयायीहरुको आस्थामा चोट पर्ने गरी घटस्थापना,रामनवमी, श्रीकृष्ण जन्माष्टमी लगायतका पर्वमा विदा कटौती गरेर गल्ती गरेको दोहोर्‍याए ।

सरकारलाई विदा कटौतिको निर्णय सच्चाउन ज्ञापनपत्र दिइसकेको नेपाल पञ्चाङग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले पत्रकार सम्मेलनमा बताए ।

नेपाल ज्योतिष परिषदले भोलि बुटवलमा राष्ट्रिय ज्योतिष सम्मेलन गर्दै छ । सम्मेलनमा ज्योतिष शाष्त्र विहीत मुहुर्तको महत्व र मृत्यु संस्कारमा विकृति विषयक कार्यपत्र, गोचरफल र यसको उपादेयता,वास्तु र ज्योतिष सम्बन्धमा क्रमशः प्रा.डा.रामचन्द्र गौतम,प्रा. कृष्ण अधिकारी,वास्तुविद् डा. माधवलाल जोशी, र डा. अर्जुन भट्टराईले कार्यपत्र प्रस्तुत गर्नेछन् ।सम्मेलनमा देशका ६१ जिल्लाबाट करिब तीन सय ज्योतिष अगुवाहरु सहभागी हुने नेपाल ज्योतिष परिषद ५ नंं प्रदेश संयोजक जनार्दन न्यौपानेले बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

चार महिनामा ७ ९ बालिका बलात्कृत यौनहिंसा

झापा/ पछिल्लो समय नेपालमा बलात्कार र बाल यौनहिंसाका घटनाले डरलाग्दो रुप लिँदै गएका छन् । अवस्था दर्दनाक हुदै गइरहेको छ । आफन्त, छिमेकी, साथी र चिनेजानेकाबाट नै धेरै बलात्कारका घटना भइरहेका छन् ।

शिक्षकदेखि जन्म दिने बाबुबाट पनि बालिकाहरु हिंसामा परेका छन् । सुचना प्रविधिको बढ्दो दुरुपयोगसँगै बालबालिकामाथि बलात्कार र यौनजन्य हिंसा बढ्दै गएका हुन् । बालकलेसमेत बालिका बलात्कार गरी हत्या गरेका घटना बाहिर आएका छन् ।

बढेको बढ्यै

पछिल्लो चार महिनामा देश ७८ वटा बलात्कारका घटना सार्वजनिक भएका छन् । ६ बालिकाको त बलात्कारपछि हत्या नै गरिएको छ।

प्रत्येक महिना बलात्कारको घटना सार्वजनिक हुने क्रम बढिरहेका छन् । सबैभन्दा धेरै ३१ जना बालिका फागुनमा यौनहिंसाको शिकार भएका छन् । मंसिरमा १०, पुसमा १४ र माघमा २३ जना बालिका बलात्कार र यौनहिंसाको शिकार भएका छन् ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अन्तर्गत केन्द्रीय बाल कल्याण समितिले सार्वजनिक गरेको प्रतिवेदन अनुसार पछिल्लो अवधिमा ४ जना बालकसमेत बालयौन दुव्र्यवहारमा परेका छन् । ७४ जना बालिका बलात्कारबाट पीडित भएका छन् । जसमध्ये ६ जना (८प्रतिशत) को सामुहिक बलात्कार भएको छ ।

आफन्त नै दुस्मन

एक बालिका ३ जना म्यादी प्रहरीबाट समेत बलात्कृत भएकी छन् । सबैभन्दा बढी चिनजानका व्यक्ति तथा आफन्तबाट नै बालिका बलाकृत भएकी छन् ।

४१ प्रतिशत अर्थात ३० जना बालिका बलात्कार चिनजान तथा आफन्तबाट नै भएका छन् । त्यसैगरी छिमेकीबाट २७ प्रतिशत (२० जना), आफ्नै बुबा तथा हाडनाताबाट १५ प्रतिशत (११ जना), फेसबुक तथा सामाजिक सञ्जाल मार्फत भएको चिनजानबाट ९ प्रतिशत (७ जना), शिक्षकबाट ४ प्रतिशत (३ जना) र म्यादी प्रहरी र सेनाबाट ४ प्रतिशत (३ जना) बालिका बलात्कार भएका छन् ।

बलात्कारमा संलग्न अभियुक्तमध्ये १७ प्रतिशत (१६ जना) बालकहरु नै भएको देखिन्छ भने बाँकी ८३ प्रतिशत (७६ जना) वयस्कबाट बालबालिका पीडित भएका छन् । ६ जना बालिकाको बलात्कार पछि हत्या गरिएकोमा २ जना बालिकाको हत्यामा भने २ जना बालकहरु नै संलग्न भएको पाइएको छ ।

बलात्कारबाट पीडित भएका बालिकाको उमेर समूहका आधारमा विश्लेषण गर्दा १० वर्ष वा सोभन्दा मुनीका ३१ प्रतिशत (२३ जना), ११ देखि १५ वर्षका ६२ प्रतिशत (४६ जना) र १६ देखि १८ वर्षका ७ प्रतिशत (५ जना) बालिका रहेका छन् ।

सबैभन्दा सानी सप्तरीकी २ वर्षको बालिका पनि बलात्कृत भएकी छन् । सबैभन्दा धेरै १४ वर्ष उमेरका बालिकाहरु बलात्कारको शिकार भएका छन् ।

बालक पनि जोगिएनन्

बालयौन दुव्र्यवहारमा परेका बालकहरुमध्ये काठमाडौंस्थित एक होटलमा लामो समयदेखि ३ जना सडक बालकलाई खाना र पैसाको प्रलोभन दिएर ६३ वर्षे जर्मन नागरिकबाट यौन दुराचारमा भएको खुलेको छ ।

त्यसैगरी अर्का एकजना बालक महोत्तरीमा गाउँकै युवाबाट पीडित हुँदै आएको खुलेको छ । गाउँलेको मिलेमतोमा घटना ढाकछोप गर्न खोजिएपछि प्रहरीको सक्रियतामा दोषीलाई कानुनी दायरामा ल्याइएको बाल कल्याण समितिले जनाएको छ ।

आर्थिक वर्ष २०७४र०७५ को प्रथम चार महिनाको अवधि (साउनदेखि कात्तिक) मा ४५ जना बालबालिका यौन दुव्र्यवहारबाट पीडित भएका थिए । बालबालिकाविरुद्ध हुने गरेको घटनाको संख्या बढ्दै गइरहेको प्रतिवेदनमा उल्लेख छ ।

अन्य हिंसा पनि उस्तै

केन्द्रीय बालकल्याण समितिको प्रतिवेदन अनुसार पछिल्लो चार महिनामा ४ सय ३ जना बालबालिका प्रत्यक्षरुपमा प्रभावित भएका थिए । सबैभन्दा बढी २ सय १४ जना बालिका पीडित भएका छन् भने १ सय ७२ जना बालक र १७ जना शिशु समेत बालअधिकार उल्लंघनका घटनाबाट प्रभावित भएको पाइएको छ ।

बालकल्याण समितिको प्रतिवेदन अनुसार मंसिरयता बालश्रम १४०, मुत्यु ७८, बालविवाह ४०, वेचविखन तथा ओसार पसार ३४, गर्भपतन ११, कुपोषण ९, शारीरिक यातना ६ र अपहरणमा ४ जना परेका छन् । अन्नपूर्णको सहयोगमा

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

गस्तीमा खटिएका प्रहरी टोलीमाथि खुकुरी प्रहार

झापा/ झापाको भद्रपुरमा मादक पदार्थ सेवन गरेर एक युवाले रात्रि गस्तीमा खटिएका प्रहरी टोलीमाथि खुकुरी प्रहार गरेका छन् ।

भद्रपुर–४ महेशपुरका ३३ वर्षीय सुभाष राईले मादक पदार्थ सेवन गरेर मंगलबार राति प्रहरीमाथि खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहारबाट दुईजना प्रहरी गम्भीर घाइते भएका छन् । राईलाई वडा प्रहरी कार्यालय भद्रपुरको टोलीले घटनास्थलबाटै पक्राउ गरेको छ ।

राईको खुकुरी प्रहारबाट महेशपुर प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक प्रकाश खवास र प्रहरी जवान पूण्यप्रसाद पोखरेल गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो । खवासको टाउकोमा र पोखरेलको देब्रे हात र टाउकोमा गम्भीर चोट लागेको छ ।

घाइते प्रहरीको मेची अञ्चल अस्पातल भद्रपुरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

आफ्नो अडानमा स्थिर रहन प्रधानमन्त्री ओलीलाई पूर्व प्रधानमन्त्रीहरुको सुझाव

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न भारत भ्रमण सद्ध्भावना भ्रमण भएको बताएका छन् । पूर्वप्रधानमन्त्रीहरुसँग बुधबार बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमण देशको हितका लागि हुने बताए । ‘यसपालीको भ्रमणमा कुनै सन्धी समझौता हुदैनन् ।

देशको अहितमा कुनै काम गरिदैन । विगतका सन्धी सम्झौता कार्यन्वयनमा जोड दिइने छ, ‘प्रधानमन्त्री ओलीले भने, ‘यस भ्रमणले दुई देश बीचको सम्बन्ध सुमधुर बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।’ छलफलमा पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, शेरबहादुर देउवा, लोकेन्द्रबहादुर चन्द, मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलाराज रेग्मीको उपस्थिती थियो । पूर्वप्रधानमन्त्रीहरुले प्रधानमन्त्री ओलीलाई भ्रमणको सफलताको शुभकामना दिए ।

नेपाल–भारत सम्बन्धलाई थप सुमधुर बनाउन पहल गर्नु पर्ने उनीहरुको सुझाव थियो । पुरानो मानसिकता राखेर २१औं सताब्दीको सम्बन्ध विकाश गर्न नसकिनेमा पूर्वप्रधानमन्त्रीहरुले जोड दिएका छन् । पूर्वप्रधानमन्त्री नेपालले आफ्नो अडानमा स्थिर रहन प्रधानमन्त्री ओलीलाई सुझाव दिए ।

उनले नेपाल–भारत सम्बन्ध भाइ–भाइको नभइ मित्र–मित्र जस्तो हुनु पर्ने बताए । पूर्वप्रधानमन्त्री प्रचण्डले संविधान निर्माण र नाकाबन्दीका बेला अप्ठ्यारो भएको नेपाल–भारत सम्बन्ध अहिले सुधार भएको उल्लेख गरे ।

उनले भने, ‘भारतलाई हामीले संविधान कार्यन्वयनमा गइसक्यो, खास समस्या छैन भनेर बुझाउनु पर्छ ।’ पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले नेपाल अहिले व्यापार घाटामा रहेकोले यसलाई उकास्ने विषयमा छलफल केन्द्रीत गर्नु पर्ने बताए । छलफलमा पराष्ट्र मन्त्री प्रदिप ज्ञवाली र नेपाल–भारत प्रवुद्ध व्यक्ति समुहको पनि प्रतिनिधित्व थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

नातिनी करणीको अभियोगमा हजुरबुबा पक्राउ

पाँचथर/ आफ्नै नातिनीलाई पटक पटक करणी गर्ने हजुरबुबालाई पाँचथर प्रहरीले पक्राउ गरेको छ ।

पाँचथर जिल्लाका ५८ वर्षीय एक पुरुषले आफ्नै १२ वर्षीया नातिनीलाई २०७४ पुस १ गतेदेखि जबर्जस्ती करणी गर्दै आइरहेको भन्ने सूचनाका आधारमा उनलाई पक्राउ गरिएको हो । कसैलाई भनेमा मारी दिने धम्की दिई बालिकालाई त्रासमा पार्दैआएको भन्ने खबर पाएपछि पीडकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक बामदेव गौतमले बताए ।

मंगलबार पाँचथर जिल्ला अदालतबाट जबर्जस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ भने पीडितलाई उद्धार गरी सुरक्षित आवासगृहमा राखिएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

प्रधानमन्त्रीको भारत भ्रमणका प्राथमिकतामा के के परे ?

काठमाण्डौं/ प्रधानमन्त्री केपी शर्मा ओलीको यही चैत २३ गतेदेखि हुन लागेको भारतको राजकीय भ्रमणका क्रममा नयाँ बुटवल गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माणको विषयमा छलफल गर्ने तयारी गरिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता दिनेश घिमिरेका अनुसार लामो समयदेखि चर्चामा रहेको सो प्रसारण लाइन निर्माणको विषयलाई प्रमुख प्राथमिकतामा राखेर निर्माण शुरु गर्ने विषयमा छलफल गर्ने र आवश्यक निर्णय गर्ने तयारी गरिएको छ ।

सो प्रसारण लाइनलाई नेपालले सरकारी तहमा नै निर्माण गर्नुपर्ने प्रस्ताव राख्दै आएको छ । तर भारतीय पक्षबाट भने व्यावसायिकरुपमा नै सो परियोजना अगाडि बढाउनुपर्ने प्रस्ताव गरिएको छ ।

आर्थिक, सामाजिक तथा रणनीतिक महत्वको सो प्रसारण लाइन निर्माणका लागि सहमति जुटाएर अगाडि बढ्ने योजनाअनुसार प्रस्ताव तयार पारिएको प्रवक्ता घिमिरेको भनाइ छ ।

अन्तरदेशीय प्रसारण योजनाको अध्ययन प्रतिवेदनको निष्कर्षका आधारमा नेपाल र भारतको ऊर्जा सचिवस्तरीय संयुक्त बैठकले नै सो प्रसारण लाइन निर्माणका बारेमा यसअघि नै सहमति जनाएको थियो । तर कुन ढाँचामा आयोजना निर्माण गर्ने भन्ने सन्दर्भमा सहमति नजुटेका कारण परियोजनाले गति लिन सकेको थिएन ।

कूल ४०० किलोभोल्ट क्षमताको सो प्रसारण लाइनको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) समेत तयार भइसकेको भए पनि निर्माण ढाँचाका बारेमा दुई देशबीच सहमति भइसकेको छैन ।

‘प्रधानमन्त्रीको भारत भ्रमणको समयका सो विषयले प्राथमिकता पाओस् भनेर हामीले पहल गरेका छौँ’, प्रवक्ता घिमिरेले भन्नुभयो, ‘दुवै देशलाई फाइदा हुने गरी सरकारीस्तरमा नै सो परियोजना अगाडि बढाउनुपर्छ भन्ने मान्यतामा हामी छौँ ।’

नेपालले हाल ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत भारतबाट १४५ मेगावाट विद्युत आयात गर्दै आएको छ ।

विद्युत माग बढी भएका क्षेत्रलाई सहजरुपमा ऊर्जा उपलब्ध गराउने लक्ष्यका साथ न्यू बुटवल गोरखपुर प्रसारण लाइनलाई सरकारले प्राथमिकतामा राखेको हो ।

नेपाल विद्युत प्राधिकरणको बुटवलमा रहेको सवस्टेसनपूर्व रोहिणीखोला नजिक अर्काे सवस्टेसन बनाउने र भारतबाट विद्युत आयात गर्ने सरकारको तयारी छ । सो प्रसारण लाइनबाट विद्युत आयात मात्रै नभई निर्यातका लागिसमेत महत्वपूर्ण मानिएको छ ।

बूढीगण्डकी र मस्र्याङ्दी करिडोरलगायतका स्थानमा उत्पादन भएको विद्युत बढी हुँदा भारत निर्यात गर्न सो प्रसारण लाइन सहज हुने विश्वासका साथ दुवै मुलुकले उक्त परियोजनालाई प्राथमिकतामा राखेका हुन् ।

सो प्रसारण लाइनबाट करीब दुई हजार मेगावाट विद्युत आयात तथा निर्यात गर्न सकिनेछ । विसं २०७३ असार १३ र १४ गते सम्पन्न भएको दुवै मुलुकका ऊर्जा सचिवस्तरीय बैठकले उक्त प्रसारण लाइन निर्माण गर्ने सहमति गरेका थिए ।

दुवै मुलुकले आ–आफ्नोतर्फको प्रसारण लाइन निर्माण गर्ने ऊर्जा सचिवस्तरीय संयुक्त बैठकमा सहमति भएपछि पछिल्लो दिनमा निर्माणको प्रक्रिया, लगानीका विषयमा भने द्विपक्षीय सहमति हुन सकेको छैन ।

ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनमा कुनै समस्या आए मुलुकभित्रको ऊर्जा वितरण प्रणालीलाई यथावत राख्न वैकल्पिक प्रसारण लाइन सहयोगी हुने भएका कारण सो प्रसारण लाइन अघि बढाउन लागिएको हो ।

विद्युत्को मुख्य माग हुने भैरहवा, बुटवल, नारायणगढ, पोखरा, दाङलगायतका शहरसमेत उक्त प्रसारण लाइनको नजिक पर्ने भएकाले पनि सरकारको प्राथमिकतामा उक्त प्रसारण लाइन राखिएको हो ।

सरकारले प्रस्ताव गरेको प्रसारण लाइन गुरुयोजनामा समेत अन्तरदेशीय प्रसारण लाइनको निर्माण, आन्तरिक प्रसारण लाइनको विकास तथा विस्तारलाई विशेष जोड दिएको छ । हाल दुई देशबीच विभिन्न ११ स्थानमा अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने प्रस्ताव गरिएको छ ।

हाल कुशाहा–कटैया, रक्सौल–परवानीपुर अन्तरदेशीय प्रसारण लाइन तथा मुलुकका अन्य प्रसारण लाइनबाट समेत विद्युत आयात भइरहेको छ ।

मुलुकभित्र उत्पादन हुने विद्युत आन्तरिक खपतबाट बढी भएको अवस्थामा निकासी गर्नेतर्फ पनि विशेष जोड दिइएको छ । प्रवक्ता घिमिरेले रणनीतिकरुपमा पनि नेपाललाई नयाँ बुटवल गोरखपुर प्रसारण लाइन महत्वपूर्ण रहने बताउनुभयो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

मिल्ला त एकताको कुरो ? माओवादी भन्छः जनयुद्ध, एमाले भन्छः जनक्रान्ति

जनयुद्ध, सुर्य चिन्ह र नेता व्यवस्थापन चुनौती
काठमाडौँः नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता अन्तिम अवस्था पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओली भारत जानुअघि नै एकता गर्ने भन्दै दुई दलबीच छलफल जारी छ ।

मंगलबार मात्रै वाम एकताका लागि बनेका दुई कार्यदलले शीर्ष नेताहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएका छन् । आजै एकता संयोजन समितिको बैठक पनि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ ।

पार्टी एकताको रस्साकस्सीबीच यही चैत २३ गते प्रधानमन्त्री ओली भारत भ्रमणमा जाँदैछन् । एकताको विधान निर्माण र सांगठानिक संरचना तय गर्न बनाइएका दुवै कार्यदलले काम सकेर प्रतिवेदन बुझाएका छन् ।

जनयुद्ध कि जनक्रान्ति ?

नयाँ पार्टीको विधान निर्माणको काम सकिएको अवस्था छ । विधानको प्रस्तावनामा ‘जनयुद्ध’ शब्दलाई लिएर दुई दलबीच सहमति जुट्न सकेको छैन । माओवादीले ‘जनयुद्ध’ राख्नुपर्ने अडान राखेको छ भने एमाले ुजनक्रान्तिु राख्ने प्रस्ताव गरेको छ ।

जनयुद्धकै जगमा माओवादी आजको अवस्था आइपुगेकाले यो शब्द छोड्न माओवादीपक्ष तयार छैन भने जनयुद्धको सधैँ विरोधमा रहेको एमाले यसलाई विधानमा राख्ने पक्षमा छैन ।

माओवादीले छोड्दै छोडदैन, एमाले मान्दै मान्दैन । जनयुद्ध शब्दलाई एकताका क्रममा कसरी व्यवस्थापन गरिएला ? यो कुरा दुई शीर्ष नेताले टुंगो लाउने भएका छन् ।

आ–आफ्नो अडान

कार्यदलका सदस्य बेदुराम भुसालले विधानको प्रस्तावनामा जनयुद्ध शब्द राख्ने नराख्ने विषयमा सहमति हुन नसकेको बताए । एमाले पोलिटव्यूरो सदस्य समेत रहेका भुसालले जनक्रान्ति शब्द राखेपछि जनयुद्ध राख्नु आवश्यक नरहेको तर्क गरे ।

नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले जनयुद्ध शब्दलाई लिएर धेरै ठुलो विवाद नरहेको बताइन् । नयाँ पार्टीको विधानको प्रस्तावनमा राख्ने शब्दलाई लिएर केही बहस भएको बताउँदै उनले शीर्ष नेताहरुले यसलाई मिलाउने बताइन् ।

‘राजनीतिक प्रतिवेदनमा जनयुद्ध शब्द समेटिइसकेको छ, यसमा ठुलो विवाद छैन’, उनले भनिन्, ‘राजनीतिक प्रतिवेदनमा जनयुद्ध शब्द आइसकेकाले नयाँ दलको विधानको प्रस्तावनमा पनि यो शब्द समेटिन्छ, यसलाई शीर्ष नेताले मिलाउनुहुन्छ ।’

माओवादी केन्द्रनिकट वाईसीएलका अध्यक्ष दीप शिखाले जनयुद्ध शब्द विधानको प्रस्तावनामा राख्न नमान्नुलाई एकता भाड्ने षडयन्त्रको संज्ञा दिएका छन् । उनले सामाजिक सञ्जालमा जनयुद्ध नराख्ने कुरा प्रति आक्रोश पाखेका छन् ।

ुजनयुद्दलाई मान्नु त परै जाओस, विधानको प्रस्तावनामा पनि राख्न तयार नहुनु भनेको एकता भाँड्नु होु, उनले भनेका छन्, ुबल हुँदा ढाडे र साँढे बन्दाको परिणामबारे एमाले र माओवादीका नेताहरूलाई राम्रैसँग थाहा छ । नमात्तिएस्, मंहगो पर्ला ?ु

बराबर हैसियत ?

नेताको व्यवस्थापन र चुनाव चिन्हको विषयमा समेत दुई दलका लागि पेचिलो बनेको छ । माओवादीले एकता समानताको सिद्धान्तमा हुनुपर्ने बताइरहेको छ, अर्थात केन्द्रीय समितिमा बराबरी हैसियत ।

एमालेले स्थानीय निर्वाचन, प्रदेश सभा र प्रतिनिधि सभामा आएको परिणामका आधार भागवण्डा हुने बताइरहेको छ । उता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल समेत बराबरी र समानताको सिद्धान्तको आधारमा पार्टी एकता गर्नुपर्ने भाषण गर्दै हिँडिरहेका छन् ।

२९९ सदस्यीय समिति

२९९ जनाको केन्द्रीय समिति, ९९ जनाको पोलिटब्यूरो र ३३ जनाको स्थायी समिति बनाउने मस्यौदामा एमाले–माओवादी सहमति भइसकेको छ । चुनाव चिन्हमा सम्बन्धमा समिति जुट्न सकेको छैन । एमाले सूर्य चिन्ह नै हुनुपर्ने अडानमा छ भने माओवादी सूर्यभित्र हँसिया हथौडा राख्नुपर्ने पक्षमा उभिएको छ ।

चिन्हमा पनि विवाद

सूर्य चिन्हको विषयमा भने एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालबीच प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन पहिले नै करिब करिब सहमति भएको थियो । ुचुनावचिन्ह र नेता व्यवस्थापनका कुरा तपशील हुन र मुख्य कुरा ‘जनयुद्ध’ शब्द नै होु, माओवादीका एक नेताले भने, ुजनयुद्ध शब्दबिना माओवादी आफ्नो अस्तित्व समाप्त भएको ठान्छ । यस्तोमा एमाले जनयुद्ध शब्द राख्ने पक्षमा देखिएन ।ु

शीर्ष नेताले मिलाउलान् ?

असहमतिका विषयसहित कार्यदलले एकता संयोजन समितिलाई राजनीतिक प्रतिवेदन बुझाएको छ । एमाले र माओवादी केन्द्रबीच एकताका लागि बनाइएका दुई कार्यदलले मंगलबार आफ्नो प्रतिवेदन शीर्ष नेतालाई बुझाएका हुन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एकता संयोजन समितिको बैठक बस्नुअघि दुवै कार्यदलले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएका हुन् ।

दुई दलको एकताका लागि एमाले नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वमा अन्तरिम राजनीतिक प्रतिवेदन बनाउन र माओवादी नेता तथा गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा अन्तरिम विधान बनाउन कार्यदल बनाइएको थियो ।कार्यदलले एकता महाधिवेशन अघिसम्मका लागि मार्गदर्शक सिद्धान्त, एकीकृत पार्टीको राजनीतिक कार्यदिशा, रणनीतिक लक्ष्यलगायत मूलभूत विषय टुंगो लगाएको छ ।

के छ प्रतिवेदनमा ?

प्रतिवेदनमा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको समीक्षा, अबको कार्यभार र कार्यदिशा, समाजवादसम्म पुग्ने बाटोलगायत विषय समेटिएको छ ।

एकता संयोजक समितिमा बाँकी विषयमा सहमति हुने बताइएको छ। एकता संयोजन समितिलेसमेत टुङ्गो लगाउन नसकेका विषयमा दुई अध्यक्षले मिलाउने छन् ।

अध्यक्षमार्फत टुङ्गो नलागेका विषयमा महाधिवेशनमा छिनोफानो हुनेछन् । एमालेको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद(जबज) र माओवादीको २१ औँ शताब्दीको जनवादको विषयमा महाधिवेशनमा टुङ्गाउने सहमति भएको छ ।

वैशाख ९ मा एकता

आगामी बैशाख ९ गते कम्यूनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा पार्टी एकताको घोषणा हुने माओवादी केन्द्रका अध्यक्ष दाहालले चितवन पुगेर जानकारी दिएका छन् । एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीले भने भारत भ्रमण पहिला नै एकता गर्ने इच्छा प्रकट गरेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

एमाले–माओवादी एकताः दुवै कार्यदलले बुझाए प्रतिवेदन

काठमाडौँः नेकपा एमाले र नेकपा माओावदी केन्द्रबीच एकताका लागि बनाइएका दुई कार्यदलले मंगलबार आफ्नो प्रतिवेदन शीर्ष नेतालाई बुझाएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एकता संयोजन समितिको बैठक बस्नुअघि दुवै कार्यदलले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएका हुन् ।

दुई दलको एकताका लागि एमाले नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वमा अन्तरिम राजनीतिक प्रतिवेदन बनाउन र माओवादी नेता तथा गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा अन्तरिम विधान बनाउन कार्यदल बनाइएको थियो ।

कार्यदलमा तयार भएको मस्यौदामा आइतबार सदस्यले सुझाव दिएको कार्यदलका सदस्य तथा एमाले नेता सुवास नेम्बाङले जानकारी दिए । तर, दुई दलले एकताका लागि धेरै कुरा मिलाउन बाँकी रहेको अवस्थामा प्रतिवेदन बुझाएका ुहन् ।

दुई पार्टीबीच सबैभन्दा जटिल नेता व्यवस्थापन देखिएको छ । स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समितिमा पर्ने नेताको भागबन्डामा सहमति जुट्न सकेको छैन ।

एकीकृत पार्टीको अन्तरिम विधान तथा संगठनात्मक ढाँचा निर्माण कार्यदलले २९९ सदस्यीय केन्द्रीय समिति, ९९ सदस्यीय पोलिटब्युरो र ३३ सदस्यीय स्थायी समिति बनाउने गरी प्रस्ताव तयार पारेको छ।

तर त्यसअनुसार केन्द्रीय समितिदेखि स्थायी समितिसम्म दुई पक्षका नेताहरूको व्यवस्थापन मिलाउन दुवै पार्टी अध्यक्षसामु चुनौती देखिएको छ ।

त्यसैगरी नयाँ पार्टीको चुनाव चिन्हमा पनि विवाद छ । एमालेले सूर्यलाई यथावत राख्न भनेको छ भने माओवादीले सूय्र्भित्र हँसिया हथौडा घुसाउनुपर्ने अडान लिएको छ । दुई पार्टीबीच जनयुद्ध शब्दलाई लिएर पनि विवाद छ ।

प्रधानमन्त्री केपी शर्मा ओली यही २३ गते भारतको तीन दिने भ्रमणमा जाँदैछन् । ओली फर्केपछि वैशाखमा एकता गर्ने कोशिश पनि भइरहेको छ । त्यसैका लागि मंगलबार दुई पार्टीको एकताका लागि एकता संयोजन समिति बैठक बालुवाटारमा बसेको हो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्