Saturday, November 30, 2024
Home Blog Page 305

विरामीले नबुझ्ने गरी प्रेस्क्रिप्सन लेख्ने नपाइने

दमक/ स्वास्थ्य संस्था तथा चिकित्सकहरुले अब बिरामीले नबुझ्ने गरी प्रेस्क्रिप्सन अर्थात औषधिको सिफारिस लेख्न नपाउने भएका छन् ।
नेपाल मेडिकल काउन्सिल, नेपाल स्वास्थ्य व्यवसायी परिषद् तथा औषधि व्यवस्था विभागका प्रतिनिधिहरुबीच बसेको बैठकले बिरामीले नबुझ्ने गरी प्रेस्क्रिप्सन लेख्ने चिकित्सक र स्वास्थ्यकर्मीलाई कारवाही गर्ने निर्णय गरेको छ ।

नेपाल मेडिकल काउन्सिलले सूचना निकालेर औषधिको नाम, औषधि खानुपर्ने समय तथा अवधि राम्रोसँग बुझिने भाषा, अक्षरमा छापेर वा लेखेर दिन स्वास्थ्यकर्मीहरुलाई आग्रह गरेको छ । नेपाल मेडिकल काउन्सिलले आफ्नो आचारसंहिता २०७३ अनुसार कार्य गर्न सबै चिकित्साकर्मी र स्वास्थ्यकर्मी, स्वास्थ्य सेवा प्रदायक संघसंस्थालाई निर्देशन दिएको हो ।
त्यस्तै प्रेस्क्रिप्सन लेख्दा चिकित्सक वा अधिकार प्राप्त स्वास्थ्यकर्मीको आफ्नै पहिचान खुल्ने नाम, थर तथा सम्बिन्धत कार्यालयमा दर्ता भएको प्रमाणपत्र नम्बर समेत खुल्ने गरी लेख्नुपर्ने काउन्सिलले जनाएको छ ।
त्यस्तै औषधि बिक्रि गर्दा बिक्रेताले प्रेस्कृप्सनमा उल्लेख गरिएको औषधि नै बिक्रि गर्नुपर्ने छ । स्वास्थ्य सेवा प्रदायक संस्थाले बिरामी जँचाएको अभिलेखहरु बिरामीको अन्तिम पटक स्वास्थ्य परीक्षण गरेको समयले कम्तिमा पाँच वर्षसम्म सुरक्षित राख्नुपर्नेछ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

अर्थतन्त्रको आकार ३० खर्ब सात अर्ब

काठमाडौँः/ चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आका तीन खर्ब ६४ अर्बले ६५ अर्बले बढेर ३० खर्ब सात अर्ब रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षमा नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) २६ खर्ब ४२ अर्ब रहेको थियो ।

यस वर्ष आर्थिक क्रियाकलाप बढ्दा जीडीपीमा उल्लेख्य सुधार आएको केन्द्रीय तथ्यांक विभागका महानिर्देशक सुमनराज अर्यालले जानकारी दिए । ‘हाम्रो अर्थतन्त्रको आधार कमजोर भएकोले सानो सुधारले पनि अर्थतन्त्रमा उल्लेख्य सुधार आएको हो’, उनले भने ।

त्यसरी नै यस नेपालको प्रतिव्यक्ति आय एक हजार चार अमेरिकी डलर अर्थात एक लाख तीन हजार तीन सय ३५ रुपैयाँ पुगेको चालु आर्थिक वर्षको राष्ट्रिय लेखा तथ्यांकको प्रतिवेदनले देखाएको छ । एक नेपालीले आफूले कमाएको रकमबाट प्रतिसय १५ रुपैयाँ बचाउन थालेका छन् ।

आर्थिक क्रियाकलापमा सुधार भएपनि धानको उत्पादन घट्दा लक्षित आर्थिक वृद्धिदर हासिल हुन नसकेपनि अन्तर्राष्ट्रियस्तरमा ख्याती कमाएक वित्तीय संस्थाले गरेको भन्दा नेपालको आर्थिक वृद्धिदर माथि उक्लिएको छ ।

चालु आवमा ५.८९ प्रतिशत आर्थिक वृद्धिदर रह्ने तथ्यांक विभागले सार्वजनिक गरेको छ । सरकारले बजेट प्रस्तुत गर्दा ७.२ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेर कार्य गरेपनि बजेट मध्यावधि समीक्षामा भने वृद्धिदर घटाएर ६ प्रतिशतमा झारेको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

एकता हुँदैन भन्ने दिनमा ड्याम्मै हुन्छ : दाहाल

काठमाडौँ/ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकता प्रक्रिया अन्तिम विन्दुमा पुगेको बताएका छन् ।

पार्टी एकता संयोजन समितिले आइतबार नेपाल कम्युनिष्ट पार्टीको ६९ औं स्थापना दिवसको काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्। उनले अब छिटै नयाँ केन्द्रीय कमिटी बनाउने समेत बताए।

वैचारिक, राजनीतिक, सांगठनिकलगायत विषय निष्कर्षतिर पुर्‍याइसकेको भन्दै दाहालले एकता प्रक्रिया नबिग्रिएको दाबी गरे। उनले सम्ममानजनक ढंगले एकता गर्नुपर्नेमा जोड दिए। ‘कसैलाई ह्युमिलेट गर्ने ढंगले होइन कि समानता, सम्मानजनक र न्यायोचित ढंगले एकता हुनुपर्छ’ अध्यक्ष दाहालले भने।

वैशाख ९ गते नै पार्टी एकता गर्ने कार्यदलले प्रस्ताव गरेको उल्लेख गर्दै उनले आफूहरुले निर्णय गरिनसकेको बताए। ‘वैशाख ९ गते एकता भनेर मिडियाले हल्ला गरे, कार्यदलले प्रस्ताव गरेको हो। हामीले निर्णय गरेका थिएनौं’ उनले भने, ‘हल्ला भएपछि त्यो दिन हुँदैन भन्ने बुझ्नुपर्छ। जुन दिन हुँदैन भनिन्छ, त्यो दिन ड्याम्मै हुन्छ।’

लामो समयदेखि कम्युनिष्ट केन्द्र निर्माणको लागि एकताको छलफल र बहस चलेको उल्लेख गर्दै दाहालले बल्ल निष्कर्षमा पुग्न लागेको बताए। आफूहरु राष्ट्रको विकास र नेतृत्व गर्ने गरी शक्तिशाली कम्युनिष्ट केन्द्र बनाउने दिशामा रहेको दाहालको भनाइ थियो। ‘शक्तिशाली कम्युनिस्ट केन्द्र बनाउने हो।

दुई पार्टीमात्रै मिल्ने होइन, राष्ट्रिय एकता, समृद्धिको लागि हामी एक भएर अगाडि बढ्छौं।’ हतारमा पार्टी एकता गरेर पश्चताप गर्ने पक्षमा आफूहरु नरहेको उनले बताए। दाहालले एकताबाट दायाँबायाँ गर्ने छुट एमाले र माओवादीलाई नभएको भनाइ दोहोर्‍याएका छन्।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

एकता समानताको आधारमै हुन्छ : ओली

काठमाडौं/ प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले र माओवादीको एकता सम्मानजनक आधारमै हुने बताएका छन्। पार्टी एकता संयोजन समितिले कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा ओलीले एकता कसैको अपमानको अधारमा नहुने स्पष्ट पारे।

उनले भने, ‘एकता गर्दा अपमानको बीच एकता हुँदैन एकता सम्मानजनक नै हुन्छ।’ अब दुई पार्टीमा एकताबाहेकको विकल्प नै नरहेको बताए। उनले भने, ‘हामी फुटेर अरूले यसको लाभ लिने हुनुहुँदैन भनेर हामी एक भयौँ। चुनावी तालमेल गर्ने कि पार्टी एकता मात्र गर्ने? पार्टी एकताका कुरा गर्दा अलिकति एकता हुनुभन्दा अगाडि केही यताउता लाग्न सक्छ।’ एकता रोक्न कुनै आधार नरहेको उनले बताए। उनले भने, ‘अलिअलि सेन्टिमेन्टल भाषण गरेर प्रचण्डजीले प्रचण्ड र ओलीले नमाने पनि एकता हुन्छ भन्नुभयो।

म त्यस्तो भन्दिनँ। यो काम हामीले गरेको हो नि! हामीले मिहिनेत गरेका हौँ। एकता सुपरमार्केटमा घुम्न गएको बेला लिएर आएका होइनौँ।’ एकतालाई सफल पारेर देशको विकासमा लाग्ने ओलीले बताए। उनले भने, ‘अब एकतालाई सफल पार्नेबाहेक अरू कुनै काम हुँदैन। यो ठाउँमा पुगिसक्यौँ, जुत्ता मिलेन लगाउँदैनौँ भनेर हुँदैन जुत्ता नमिले पनि ताछतुछ पारेर लगाउनुपर्छ।’ उनले पार्टी एकता मेलामा गएर लगाएको मीत जस्तो नभएको स्पष्ट पारे। उनले भने, ‘यतिकै हामीले एक भयौँ भनेका होइनौँ। यो कुनै मेलामा लगाएको मीत होइन। हाम्रा नीति र सिद्धान्तमा मिलेका छौँ। हामी अब समृद्धितर्फको यात्रामा अगाडि बढ्छौँ। अब एकता हुन रोक्नुपर्ने कहीँ कतै कारण छैन।’ उनले अब पछाडिका कुरा गर्ने बेला नरहेको बताए। उनले भने, ‘पहिला माओवादीले गल्ती गर्‍यो होला, उसले गल्तीको परिणाम पनि भोग्यो होला। एमालेले पनि गल्ती गरेर गल्तीको परिणाम पनि भोग्यो होला। त्यही बेला प्रचण्डले मलाई भक्कु गाली गर्नुभयो होला, मैले पनि गरेँ होला। हामीबीच भनाभन भयो तर अब फर्केर हेर्ने अवस्था छैन।’ उनले निकट भविष्यमा एकता हुनेमा ढुक्क हुन कार्यकर्तालाई विस्वस्त पनि पारे।

उनले भने, ‘एकता निकट भविष्यमा हुन्छ। हामी धेरै पटक एकता गर्दै-गर्दै आएकाले मिल्नुभन्दा अगाडि र पछाडिको कुरा थाहा छ। विहे गर्नुभन्दा अगाडि त दुलही, दुलाहाको घरमा अर्कै हुन्छ। विहे भइसकेपछि त्यो घरको बिराला, बाच्छो पनि माया लाग्छ। यो पार्टी एकता पनि त्यस्तै हो। एकताभन्दा अगाडि अलिअलि यताउता हुनु फरक कुरा हो। अघि कार्यक्रमअघि भए पनि त्यस्तै हो। पछि सम्झेर हाँस्नुपर्छ आफैँ।’

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

एकताको सन्दे दिने भेला ः ब्यानरले उचाल्यो विवाद

काठमाडौं/ नेकपा एमाले र माओवादी केन्द्रले लेनिन जयन्तीको अवसरमा गर्न लागेको संयुक्त कार्यक्रम सुरु नहुँदै भाँडभैलो मच्चिएको छ।

कार्यक्रममा प्रमुख वक्ताका रुपमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपस्थित हुँनै बाँकी थियो। कार्यकर्तालाई सम्यमित हुन एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ आग्रह गर्दै थिए। कार्यक्रमको सुरु नहुँदै प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीलाई सम्बोधन गर्दा धेरै आदरार्थी शब्द प्रयोग गरेको तर, प्रचण्डको सम्बोधनमा नाममात्र भनेको भन्दै माओवादी कार्यकर्ता आक्रोशित भए।

एमाले कार्यालय सचिव श्रेष्ठको शैलीविरुद्ध एक माओवादी कार्यकर्ताले मञ्चमै चढेर चर्काे विरोध गरे। उनले विशेषत सम्बोधनमै माओवादी अध्यक्षको अपमान भएको बताए। माओवादी कार्यकर्ताको आक्रोशलाई साम्य पार्न श्रेष्ठले सम्बोधनका क्रममा गल्ती भएकोप्रति माफी नै माग्नु पर्याे। ‘सम्बोधनका क्रममा भएको मानवीय गल्तीप्रति क्षमाप्राथी छु’, कार्यालय सचिव श्रेष्ठले मञ्चमा चढेर माफी माग्र्दै भने, ‘अब साम्य भएर बसौं केही बेरमा कार्यक्रम सुरु हुन्छ।’

ब्यानर झिकेर फालियो
यसरी सुरुभएको विवाद टुंगिन नपाउँदै ब्यानरको विषयले अर्काे विवाद निस्कियो। लेनिन जयन्तीको अवसरमा आयोजित कार्यक्रको ब्यानरमा पुष्पलाल श्रेष्ठ, मदन भण्डारी, मनमोहन अधिकारीको तस्बिर माथि र तल एकातर्फ ओली र अर्काेतर्फ प्रचण्डको तस्बिर थियो।

ब्यानरमा लेनिनको तस्बिर नभएको भन्दै माओवादी कार्यकर्ताले फेरि आक्रोश व्यक्त गरे। माओवादी कार्यकर्ताको आक्रोश त्यत्तिमा मात्र सिमित थिएन। उनीहरुले ब्यानरमा एमालेको नाम पूरा लेखिएको तर, माओवादी केन्द्रको भने ुमाकेु मात्र लेखिएको भन्दै असन्तुष्टि जनाए।

सम्मानजनक एकताको विषयमा बहस र छलफल भइरहेका बेला भइरहेको संयुक्त कार्यक्रममा माओवादीलाई अन्याय भएको असन्तुष्टी कार्यकर्ताले नाराबाजी गर्दै हलभित्रै पोख्न थाले। उनीहरुले ब्यानरमा किन माओवादी केन्द्र नलेखेर ुमाकेु मात्र लेखियो ? भन्दै प्रश्न गरे। यसको समाधानका लागि राखिएको ब्यानर झिकेर अर्काे ब्यानर बनाउने तयारी भयो।

विवाद समाधानका लागि मञ्चमा त्यही बेला माओवादीको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल)का अध्यक्ष दीपशीखा पुगे। मञ्चमा त्यत्तिबेला एमाले कार्यालय सचिव श्रेष्ठ मात्र थिए। उनीहरुबीच केहीबेर चर्काचर्की नै पर्याे। त्यसपछि कार्यक्रमको मञ्चमा राखिएको ब्यानर कार्यकर्ताले हटाए।

कार्यक्रममा ब्यानर र शब्दमा विवाद हुँदै गर्दा अखिलका महासचिव ऐन महर भने मञ्चमै गएर यो विषय कार्यकर्ताको विवाद नभएर संयोजन समितिले निर्णय गर्नुपर्ने विषय भएको भन्दै कार्यकर्तालाई साम्य भएर बस्न आग्रह गरे। तर, माओवादी कार्यकर्ता भने आफूहरु अपमानित भएको भन्दै आक्रोश व्यक्त गरिरकेका थिए।

आयोजकले नयाँ ब्यानर बनाउने निर्णय गरेपछि कार्यक्रम स्थलमा पुगे पनि प्रधानमन्त्री ओली र प्रचण्ड मञ्चमा गएका छैनन्। नयाँ ब्यानर ल्याएपछि मात्र कार्यक्रम सुरु गर्ने तयारी एकता संयोजन समितिले गरेको छ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

निन्द्रालाई कसरी लिने र निदाउन सजिलो उपाय के ?

खानपान, शारीरिक व्यायाम र निद्रा स्वस्थ जीवनशैलीका तीन खम्बा मानिन्छन्। यी तीन पक्षमध्ये खानपान र शारीरिक व्यायामका बारेमा व्यापक छलफल गरिन्छ र तिनका बारेमा बुझ्न खोजिन्छ। तर निद्राका बारेमा व्यक्तिगत र सामाजिक रूपमा पनि त्यति धेरै छलफल हुँदैन।

अब भने परिस्थिति बदलिँदै छ। निद्राको महत्वका बारेमा मानिसहरू सचेत हुन थालेका छन्। निद्राका बारेमा चिकित्सा विज्ञानमा भइरहेका खोज तथा अनुसन्धानहरूले हाम्रो बुझाइलाई थप फराकिलो बनाइरहेको छ।

किन लाग्छ निद्रा ?

‘हामी किन सुत्छौं ? ’ भन्ने प्रश्नको ठोस उत्तर पाउन गाह्रो भए पनि हाम्रो जीवनको करिब एकतिहाइ समय दिइने निद्राका बारेमा वैज्ञानिकहरूले केही सिद्धान्तहरू विकास गरेका छन्। ती सिद्धान्तले निद्रा हाम्रा लागि किन आवश्यक छ भनी व्याख्या गर्न कोसिस गरेका छन्।

जसरी भोक लागेका बेलामा खानु प्राकृतिक आवश्यकता हो, त्यति नै महत्वपूर्ण हो निद्रा लागेको बेलामा सुत्नु। खानाले हाम्रो शरीरलाई चाहिने आवश्यक तत्व परिपूर्ति गरेर शरीरलाई स्वस्थ राख्छ। यसले हाम्रा तन्तुहरूको मर्मत गर्छ र राम्रोसँग काम गर्न सहयोग गर्छ। समयमा खानु र शरीरलाई चाहिने कुरा खानुको महत्वका बारेमा हामी सचेत हुन कोसिस गर्छौं। हामीले निद्राका बारेमा खासै नसोचे पनि निद्राले हामीलाई ताजा अनुभव गराउँछ भन्ने हामी सबैलाई थाहा छ। रातमा राम्रो निद्रा परेपछि अर्को बिहान हामीमा ऊर्जा आउँछ र बढी खुसी अनुभव हुन्छ। निद्रा नपुग्दा शरीरमा हुने अप्ठेरोले पनि हामीलाई निद्रा अत्यावश्यक छ भन्ने पुष्टि गर्छ। खानु र सुत्नु दुवै हाम्रा शरीरका आन्तरिक र शक्तिशाली आवश्यकताले माग गर्ने विषय हुन्। खाना नखाई धेरै समय बस्दा शरीरलाई नै अप्ठेरो हुने गरी भोक लागे झैं लामो समय नसुत्दा शरीरले नै निद्राको माग गर्छ।

मानिस र अरू प्राणीलाई किन सुत्नुपर्छ भन्नेबारेमा वैज्ञानिक तथा अध्येताहरूले केही सिद्धान्त प्रतिपादन गरेका छन्। यीमध्ये कुनै एउटा सिद्धान्तले निद्राको आवश्यकताका बारेमा सबै कुरा राम्रोसँग व्याख्या गर्न सक्तैन। तर ती सिद्धान्तका व्याख्याहरूलाई समग्रमा बुझ्दा भने निद्राको आवश्यकताका बारेमा महत्वपूर्ण कारण थाहा पाउन सकिन्छ।

रातको बेलाजस्तो खतरनाक समयमा निस्क्रिय भएर सुत्दा प्राणीहरूलाई सुरक्षा चुनौतीहरूबाट जोगिन मद्दत पुग्ने एकथरी वैज्ञानिकको राय छ। अर्काथरीले भने राति सुतेर प्राणीहरूले शारीरिक ऊर्जा जोगाउँछन् भन्छन्। अर्को एउटा सिद्धान्तले दिउँसोको क्रियाकलापबाट हराएको ऊर्जा पुनः प्राप्त गर्न पनि सुत्नुपर्छ भनेको छ। दिमागलाई भौतिक रूपमै पनि पुनः क्रियाशील हुन पनि सुत्न जरुरी हुन्छ भन्ने सिद्धान्तहरू छन्। यी सबै सिद्धान्तका सूक्ष्म व्याख्याहरू छन्।

दिउँसो वा नसुतेको बेलामा शरीर सक्रिय रहँदा हुने क्षतिको पुनस्र्थापनाका लागि सुत्न आवश्यक रहेको बताउने व्याख्याहरू पनि छन्। निद्राले मस्तिष्कलाई मात्र आराम दिने र ताजा बनाउने होइन, शरीरमा भएका भौतिक क्षतिहरूको पुनर्निर्माणमा पनि सहयोग गर्छ। जस्तो– मानिस र अन्य जनावरमा गरिएको अध्ययनले देखाएका छन्, केही हप्तासम्म सुत्न नदिने हो भने उनीहरूले रोगविरुद्धको प्रतिरोधात्मक क्षमता पूरै गुमाउँछन्। उनीहरूको केही साताभित्र मृत्यु नै हुन्छ। अरू अध्ययनहरूले शरीरको पुनर्निर्माणको काम जस्तै मासंपिण्डको वृद्धि, तन्तु पुनर्निर्माण, प्रोटिन उत्पादन र शरीर वृद्धिमा भूमिका खेल्ने हर्मोनहरूको उत्पादन पनि सुतेको बेलामा बढी हुने देखाएका छन्।

शरीरलाई ताजा बनाउन निद्राका योगदान मस्तिष्क र मस्तिष्कको क्षमतालाई पुनर्जीवित पार्नेसँग समेत सम्बन्धित छन्। यसको वैज्ञानिक व्याख्या यस्तो छ। दिउँसो सक्रिय रहेको अवस्थामा प्राणीहरूका कोषहरूले एडिनोसाइन नामक तत्व बाइप्रोडक्ट (सहउत्पादन) का रूपमा उत्पादन गर्छन्। त्यो तत्व जम्मा हुँदै जाँदा मानिस र अन्य प्राणीलाई थाकेको अनुभव हुने र निद्रा लाग्छ। कफीमा पाइने क्याफिनले एडिनोसाइनले दिमागमा पार्ने असरलाई कम गर्छ। त्यसैले कफी खाएपछि निद्रा कम लाग्ने हुन्छ। निद्राको बेला शरीरले एडिनोसाइन घटाउने र निकास गर्ने हुँदा निद्रा पछि ब्युँझदा हामीलाई ताजगीको अनुभव हुन्छ।

अन्य केही सिद्धान्तले सक्रिय अवस्थामा रहँदा दिमागको आकारमा नै केही परिवर्तन आउने तर सुत्दा दिमाग पहिलेकै अवस्थामा फर्किने हुनाले सुत्दापछि स्वाभाविक र ताजगी अनुभव गरिने बताएका छन्।

पर्याप्त निद्राका फाइदा

पर्याप्त निद्राका फाइदाका बारेमा हामीलाई प्रशस्त जानकारी नहुन सक्छ र यो स्वाभाविक पनि हो। तर चाहिने मात्राको निद्राका फाइदा अनि निद्रा नपुग्दाका बेफाइदा र अप्ठेरा हामीले व्यक्तिगत रूपमा पनि अनुभव गरेका हुन्छौं, स्वाभाविक रूपमा थाहा पाएका हुन्छौं। रातमा राम्रोसँग सुत्न पाउँदा अनुभव गरिने ताजापन र काम गर्नका लागि प्राप्त हुने ऊर्जा र फूर्तिका बारेमा हामी सबैलाई अनुभव छ।

वैज्ञानिकहरूले पर्याप्त निद्रा पुग्दा पाइने फाइदाका बारेमा धेरै अध्ययन गरेका छन्। मानिस र अन्य जनावरको अध्ययनबाट वैज्ञानिकहरूले के पत्ता लगाएका छन् भने निद्राले रोग प्रतिरोधात्मक क्षमता, पाचनलगायत शारीरिक प्रक्रिया, स्मरण, सिकाइ र अन्य महत्वपूर्ण मनोवैज्ञानिक र शारीरिक प्रक्रियामा महत्वपूर्ण प्रभाव पारेको हुन्छ।

निद्राका सबै फाइदाका बारेमा वैज्ञानिकहरूलाई पनि थाहा नहुन सक्छ। वैज्ञानिक विकासक्रमका दृष्टिकोणले निद्राको महत्व वैज्ञानिकहरूले भनेको भन्दा पनि बढी हुन सक्छ। एक्काईसौं शताब्दीको भागदौडयुक्त जीवनमा निद्राको महत्व स्मरण र स्थास्थ्यको दृष्टिकोणले महत्वपूर्ण हुन सक्छ। हाम्रो शरीरले भोक, प्यास, श्वासप्रश्वास जस्तै निद्राको पनि व्यवस्थापन गर्छ। त्यसैले निद्राको पनि हाम्रो स्वास्थ्य र स्वस्थ जीवनशैलीमा महत्वपूर्ण भूमिका हुन्छ।

निद्राका बेलामा शरीरले केही हर्मोनहरू उत्पादन गर्छ। यी हर्मोनहरूले भोक, ऊर्जा, शारीरिक प्रक्रिया र शरीरमा ग्लुकोजको मात्रा नियन्त्रण गर्छन्। निद्रा कम हुँदा यो सन्तुलन बिग्रन्छ। निरन्तर कम निद्रा हुँदा ‘कोर्टिसोल’ नामक तनाव बढाउने हर्मोन र इन्सुलिन नामक हर्मोन बढी उत्पादन हुन्छ। इन्सुलिन बढी मात्रामा उत्पादन हुँदा शरीरको वजन बढ्ने र मधुमेहको पनि डर हुन्छ। निद्रा कम हुँदा लेप्टिन नामको हर्मोन कम र घ्रेलिन नामक हर्मोन बढी उत्पादन हुन्छ। लेप्टिनले भोक नियन्त्रण गर्छ भने घ्रेलिनले भोक लगाउँछ। त्यसैले निद्रा कम पर्दा भोक बढी लाग्छ र मोटोपन बढ्ने सम्भावना बढी हुन्छ। निद्रासँगै सम्झौता गर्नुपर्ने मानिसहरूलाई शारीरिक व्यायाम गर्ने समय पनि नमिल्न सक्छ। त्यसले पनि शरीरलाई सन्तुलनमा राख्न गाह्रो हुन्छ।

निद्रा नपुग्दाका बेफाइदा

पश्चिमा मुलुकमा र नेपालकै पनि काठमाडौंलगायतका सहरहरूमा कामको धपेडीका कारण, मनोरञ्जनका लागि र अन्य विभिन्न कारणले मानिसहरू पर्याप्त सुत्दैनन्। हामी कतिपय अवस्थामा अरू काम गर्नका लागि निद्रासँग सम्झौता गर्छौं।

रातको समयमा कफी खाने, मदिरा सेवन गर्ने, मनोरञ्जन गर्ने र अन्य तरिकाले आफूलाई सक्रिय राख्न खोज्दा पनि निद्राको समस्या हुन सक्छ। डिप्रेसनविरुद्धको औषधि, स्टेरोइड र एलर्जीविरुद्धका औषधिले पनि निद्राको समस्या पार्न सक्छन्। आरथ्राइटिसजस्ता रोग र मनोरोगले पनि निद्रा नपर्ने हुन सक्छ। निद्रा लाग्न नदिने समस्याको समाधान गरेर निद्रालाई स्वाभाविक रूपमा ल्याउन सकिन्छ। रोजगारको समस्या हुँदा, बस्ने ठाउँ परिवर्तन गर्दा, लामो समय सवारी साधन र जहाज यात्रा गर्दा निद्रा नलाग्नु स्वाभाविक हुन्। केही समयपछि निद्रा स्वाभाविक रूपमा लाग्न सक्छ। तर निरन्तर निद्रामा समस्या देखियो भने सचेत हुनुपर्छ।

राम्रोसँग सुत्न नपाउँदा र निद्रा नपुग्दा मानिसको मुड र सिकाइमा असर पर्ने पनि विज्ञहरूले पत्ता लगाएका छन्। हामी सबैलाई थाहा भएकै कुरा हो, राम्रोसँग निद्रा नपुगेको रातपछिको दिनमा नयाँ कुरा सिक्न हामीलाई कठिन हुन्छ। तर केही नयाँ कुरा सिकेपछि त्यसलाई राम्रोसँग सम्झिन पनि राम्रो निद्रा पुग्नुपर्छ भन्ने कुरा भने हामीमध्ये धेरैलाई थाहा नभएको हुन सक्छ। यसरी नयाँ कुरा सिक्नुअघि र पछि राम्रोसँग निद्रा पुग्नुपर्छ भन्ने अध्ययनहरूले देखाएका छन्।

निद्रा राम्रोसँग नपुग्दा हाम्रो मुड, काममा लाग्ने प्रेरणा, मूल्यांकन क्षमता, इन्द्रियहरूले गर्ने अनुभवमा पनि नकारात्मक असर पर्छ। स्मरण शक्तिमा निद्राको भूमिकाका बारेमा केही विवाद भए पनि सिकाइ र स्मरणमा पर्याप्त निद्राको सकारात्मक योगदान हुनेमा विज्ञहरूको विमति छैन।

लामो समय चाहिनेभन्दा कम सुत्दा त्यसको अल्पकालीन र दीर्घकालीन बेफाइदाहरू हुन्छन्। अल्पकालीन असरमध्ये हाम्रो मूल्यांकन प्रभावित हुनु, मुडमा नकारात्मक प्रभाव पर्नु र हाम्रो सिक्ने र जानकारी राख्ने क्षमता घट्नु हुन्। निद्रा कम हुँदा गम्भीर दुर्घटनामा पर्ने र घाइते हुने सम्भावना पनि हुन्छ। थोरै समय निद्रा नपुग्दा पनि रक्तचाप बढ्ने सम्भावना हुन्छ। पहिले नै उच्च रक्तचाप भएका मानिसमा निद्रा नपुग्दा उनीहरूको रक्तचाप थप बढ्न सक्छ।

दीर्घकालीन रूपमा निद्रा नपुग्ने जीवनशैली हुँदा मोटोपन बढ्ने, मधुमेह, मुटु र रक्तचाप बढ्ने, तनाव बढ्ने, रगतमा ग्लुकोजको मात्रा स्वाभाविक नियन्त्रणमा नआउने, शरीरका भाग सुन्निनेदेखि मृत्युसम्मको खतरा हुन्छ। यसरी निद्रा कमी हुँदा त्यसका गम्भीर र दीर्घकालीन असर हुन सक्छन्। त्यसैले निद्रालाई आराम र सुविधाको विषय होइन, अत्यावश्यक ठानी प्राथमिकतामा राख्नुपर्छ।

निद्राको समस्याले हाम्रो इन्द्रियहरूको स्वाभाविक कामगराइ र मूल्यांकनमा नकारात्मक असर पार्न सक्छन्। यसले हाम्रो प्रभावकारिता र उत्पादकत्व घटाउन सक्छ। हाम्रा इन्द्रियहरूले स्वाभाविक काम गर्न नसक्दा गल्ती हुने र दुर्घटना बढ्न सक्छन्। कम निद्रा हुँदा स्वास्थ्य बिग्रने, मुड बिग्रने, अल्छी लागिरहने, काममा प्रेरणा नहुने, मानिसहरूसँगका सम्बन्धमा नकारात्मक असर पर्ने र कामको प्रभावकारिता घट्न सक्छ। निद्राको समस्याले डिप्रेसनजस्ता मानसिक समस्या पनि लाग्न सक्छन्।

दीर्घकालीन रूपमा निद्रासँग सम्झौता गर्दा मानिसका उमेरमा नै असर पर्न सक्छ। वैज्ञानिकहरूले धेरै वर्ष लगाएर ठूलो समूहमा गरेको अध्ययनले धेरै समय निद्रासँग सम्झौता गर्नेहरूको उमेर कम हुने निष्कर्ष निकालेका छन्। अमेरिकामा मात्रै पाँचदेखि सात करोड अमेरिकीहरूमा निद्रासम्बन्धी समस्या देखिएका छन्। यसले अमेरिकाको सार्वजनिक स्वास्थ्यमा असर पारेको र स्वास्थ्योपचारको मूल्य बढाएको अध्ययनहरूले बताएका छन्।

मदिरा र निद्राको सम्बन्ध

मदिराले मानिसलाई शारीरिक र मनोवैज्ञानिक लठ्याएर केही समय सुत्न सजिलो पनि बनाइदिन्छ, तर निद्राको गुणस्तर भने घटाइदिन्छ। निद्रा कम लाग्ने कतिपय मानिसले मदिरालाई निद्रा लगाउन लागि पिउने भए पनि मदिरा सेवन गर्ने अधिकांश व्यक्तिहरूलाई कम र कमसल निद्रा पर्ने अध्ययनहरूले देखाएका छन्। मदिराले लठ्याएर केही समय निद्रा लाग्ने बनाए पनि त्यसको असर केही घन्टाका लागि मात्रै हुन्छ। मदिराको प्रभाव कमजोर हुनेबित्तिकै शरीरलाई सक्रिय बनाउने मस्तिष्कका भागहरू सक्रिय भइदिने हुनाले झन् निद्रा नलाग्ने हुन सक्छ।

निद्रा लगाउने औषधि र मदिराले निद्राको समस्यालाई थप नराम्रो बनाइदिन सक्छन्। निद्राको समस्या हुँदा विज्ञसँग सुझाव लिने र तदनुरूप स्वस्थ निद्राको बानी लगाउन कोसिस गर्नुपर्छ।

५. राम्रो निद्राका लागि हटाउनुपर्ने बानीहरू

क . निदाउने बेला सकेसम्म खानेकुरा नखानुहोस्। खाना पर्ने भए खाएको निश्चित समयपछि मात्रै सुत्नुहोस्।

ख . सुत्नुभन्दा तीन घन्टा अगाडिसम्म क्याफिन र निकोटिनजन्य चिजहरूको सेवन नगर्नुहोस्। जस्तै क्याफिन कफी, चिया र सोडामा मात्र होइन, चकलेटमा पनि हुनसक्छ।

ग . सुत्नुअगाडि मदिरा नपिउनुहोस्। हल्का मदिरा सेवनले केही समय निद्रा लगाए पनि केही घन्टापछि निद्रा नलाग्न सक्छ।

घ . सुत्ने कोठामा टेलिभिजन, कम्प्युटर, मोबाइल फोन, ट्याब्लेट, ल्यापटप, ई–रिडर नराख्नुहोस्। राख्नैपर्ने भए टाढा राख्नुहोस् र प्रयोग नगर्नुहोस्।

ङ . अलार्मको रूपमा मोबाइल प्रयोग गर्नुहुन्छ भने पनि त्यसलाई टाढै राख्नुहोस्। नजिकै हुँदा राति त्यसमा मेसेजहरू र अरू कुरा जाँच्न मन लाग्न सक्छ।

च . सुत्ने कोठामा सम्भव भएसम्म उचित तापक्रम राख्नुहोस्। धेरै चिसो र न्यानो नबनाउनुहोस्।

छ . सकेसम्म प्रत्येक दिन उही समयमा सुत्ने रुटिन बनाउनुहोस्। फरकफरक दिन फरकफरक समयमा सुत्ने बानी नगर्नुहोस्।

ज . निद्राको बेलामा उठेर हिँड्ने, खाने र डरलाग्दो सपना देखेर आत्तिने बानी भएकाहरूलाई तनाव कम गर्ने शारीरिक र मनोवैज्ञानिक तालिम दिएर उपचार गर्न सकिन्छ। यस्ता बानी हटाउन सजिलो भने छैन।

६. कति सुत्ने ?

अमेरिकामा आधारित नेसनल स्लिप फाउन्डेसनको वेबसाइटमा लेखिएअनुसार ‘स्लिप हेल्थ’ नामक अनुसन्धानमूलक पत्रिकामा जनाइएअनुसार अमेरिकाका बालस्वास्थ्य, शरीर विज्ञान, मनोविज्ञान र मानसिक रोग, मानव विकास, स्नायु विज्ञानजस्ता विषयका १८ जना विज्ञहरूले तीन सयवटा वैज्ञानिक र स्तरीय लेखमा आधारित भएर कुन उमेर समूहका मानिसले कति सुत्नुपर्छ भन्ने सिफारिस गरेका छन्। अमेरिकाका लाखौं मानिसले फाउन्डेसनका सिफारिस र अनुसन्धानमाथि विश्वास गर्छन्।

कसलाई कति निद्रा आवश्यकता पर्छ भन्ने व्यक्तिको जीवनशैली र स्वास्थ्यमा भर पर्छ। त्यसैले कति सुत्ने भन्ने कुरा उमेरका आधारमा मात्र होइन, जीवनशैली र कामको प्रकृति र तनावमा पनि भर पर्छ। उमेरका अलावा शारीरिक सक्रियता, रोग, मोटोपनाजस्ता विषयमा पनि कति निद्रा पर्याप्त हुन्छ भन्ने निर्धारण गर्नुपर्ने हुन्छ। अमेरिकाको नेसनल स्लिप फाउन्डेसनले उमेर समूहअनुसार मानिसले सुत्नुपर्ने समय सिफारिस गरेको छ।

उक्त फाउन्डेसनले गरेको सिफारिस तालिकामा प्रस्तुत गरिएको छ :

फाउन्डेसनका विज्ञहरूले उमेरअनुसार सुत्नुपर्ने भनी पहिलाका सिफारिसलाई अध्ययन र अनुसन्धानका आधारमा केही परिवर्तन गरेका छन्।

स्वस्थ निद्राका लागि यी तरिकाहरू पछ्याउनुहोस् :

१) सकेसम्म सुत्ने समय नबदल्नुहोस्, सप्ताहन्तमा समेत

२) सुत्नुअगाडि शरीरलाई आराम दिने तरिकाहरू अपनाउनुहोस्

३) दैनिक शारीरिक व्यायाम गर्नुहोस्

४) सुत्ने कोठाको तापक्रम, आवाज र उज्यालो सुत्नको लागि उचित हुने किसिमको बनाउनुहोस्।

५) डसना, सिरानी र ओढ्ने वस्तु आरामदायी छान्नुहोस्।

६) निद्रा बिथोल्ने चिजहरू जस्तै मदिरा र क्याफिनजन्य वस्तुहरू सेवन नगर्नुहोस्।

७) सुत्नुअगाडि इलेक्ट्रोनिक उपकरणहरू बन्द गर्नुहोस्।

निद्रालाई प्राथमिकतामा राख्नुहोस्। अरू दैनिक क्रियाकलाप र खाने, पिउनेजस्तै शारीरिक आवश्यकता हो निद्रा। यसलाई पनि दैनिक रूपमा आवश्यक र छुटाउन नहुने क्रियाकलापको सूचीमा राख्नुहोेस्। अरू सबै काम भ्याएपछि मात्रै सुत्ने हो भन्ने मानसिकता त्याग्नुहोस्। निद्रा पुर्‍याउनका लागि अरू क्रियाकलापलाई पछाडि सार्न पनि नहिच्किचाउनुहोस्। स्वस्थ र पर्याप्त निद्रा सफल र अनुशासित जीवनका लागि आवश्यक छ।

निदाउनु समय खेर फाल्नु हो भन्ने आशयका ‘महावाणी’ हरू पनि बग्रेल्ती पाइन्छन्। तर निद्रा र स्वास्थ्यको बलियो सम्बन्ध भएको प्रमाणित भइसकेकाले त्यस्ता निद्राविरोधी वाणीहरूबाट प्रेरित नभएकै राम्रो होला।

(हार्वड विश्वविद्यालयको डिभिजन अफ स्लिप मेडिसिनको वेबसाइट, अमेरिकास्थित नेसनल स्लिप फाउन्डेसनको वेबसाइट र अन्य एजेन्सीहरूबाट अनूदित।)

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

भारत–नेपाल दुवैतर्फ सडक निर्माण नहुँदा मेची पुल उपयोगमा आएन

झापा/ नेपाल–भारतको सीमावर्ती नाका जोड्ने भद्रपुरस्थित मेची पुलको निर्माण कार्य लगभग पूरा भएको छ । सात वर्षमा बल्ल सम्पन्न भएको मेची पुल जोड्ने सडक नबन्दा दुवै देशका नागरिकको ध्यान त्यसतर्फ केन्द्रित बनेको छ ।
भारतको बंगाल तथा बिहार राज्य छोएको मेची पुलको सडकलाई कुन दिशामा लैजाने भन्ने कुराले नेपाल तथा भारत दुवै देशका जनप्रतिनिधि तथा सर्वसाधरणलाई चिन्तित बनाएको छ । पश्चिमतर्फ मेची पुललाई हुलाकी राजमार्गसँग जोड्ने डिजाइन तथा नक्सा तयार नहुनु र पूर्वतर्फ भारत सरकारले पुललाई बिहार तथा बंगाल जोड्ने दिशा दिन नसक्दा मेची पुल उद्घाटनको पर्खाइमा रहेको छ ।
नेपाल सरकारले बजेट निकासा गरेपछि वि.सं. २०६८ माघ २१ गतेदेखि मेची पुल निर्माण कार्य सुरु भएको थियो । तीन वर्षमा बन्ने मेची पुल बल्ल सात वर्ष आएर लगभग काम पूरा भएको छ । यसको कुल लागत करिब ३३ करोड रुपैयाँ रहेको छ । पुलको लम्बाइ ५६० मिटर र चौडाइ ११ मिटर छ । मेची पुललाई चाँडोभन्दा चाँडो उद्घाटन गरी संचालनमा ल्याउन दुवै देशका नागरिकले आआफ्नो स्थानबाट सरकार तथा जनप्रतिनिधिलाई दबाब दिँदै आएका छन ।
यसै विषयमा पूर्वतर्फको पुलको सडकलाई बिहारतर्फ जोड्ने सम्बन्धमा बिहार सरकारका विधायक, भद्रपुर नगरपालिका र दुवै देशका जनप्रतिनिधि, इन्जिनियर, उद्योगी, व्यवसायी र राजनीतिक दलले शुक्रबार बिहान मेची पुलको स्थलगत निरीक्षण तथा अनुगमन गरेका थिए । निरीक्षण तथा अनुगमनपश्चात पुललाई भारतको बिहार राज्यसँग जोड्ने गरी अन्तिम निश्कर्ष निकाल्दै सडकको बारेमा व्यापक छलफल गरिएको थियो ।
भद्रपुर नगरपालिकामा आयोजित छलफलमा मेची पुल जोड्ने सडकलाई एनएच हाइवेसँग जोड्न भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठ, प्रदेश सांसद ओमप्रकाश सरावगी र भद्रपुरका पूर्व प्रमुख भरतेन्दुकुमार मल्लिकले बिहारका विधायक तथा जनता दल युनाइटेडका पार्टी सचेतक मो. नौसाद आलम समक्ष आग्रह गरेका थिए ।
पुललाई बंगाल र बिहारको एनएच हाइवेसँग जोड्छौँ ः विधायक आलम नेपाल सरकारको सहयोगमा मेची पुल निर्माण भएकोमा बिहारका विधायक मो. नौसाद आलमले खुसी व्यक्त गरेका छन् । ‘नेपालको पुरानो नगर भद्रपुर र भारतको गलगलिया पुलकै कारणले अन्य नाकाको तुलनामा विकासको दृष्टिकोणले पछि परेको छ, जसले गर्दा भद्रपुर र गलगलियावासीलाई प्रत्यक्ष मारमा पारेको छु, उनले भने, ‘अब पुल बनेपछि यस क्षेत्रको विकास हुनेछ ।’ पुललाई बिहार राज्यसँग जोड्न बिहार सरकार तयार रहेको बताउँदै उनले थपे, ‘गलगलियाको बाटो पहिला ग्रामीण सडक थियो, अहिले आरसिडी सडक बनेको छ । पुलको सडकलाई बंगालदेखि अररिया जोड्ने एनएच सडकसँग जोड्न बिहारका मुख्यमन्त्रीसँग कुरा गरी काम अघि बढाउन प्रयास गर्नेछौँ ।’ पुलको सडकमा यस्तो छ प्राविधिक समस्या मेची पुलको पूर्वपट्टि भारततर्फ यू टर्न आकारका सडक बन्दै छन्। सूर्य एण्ड सन्स जेभी निर्माण कम्पनीले १०३ मिटर यु टर्न आकारको ग्राभेल सडक बनाउँदै छ । यू टर्न आकारको सडक बन्दा सवारी साधनलाई समस्या हुने भन्दै भद्रपुर नगरपालिकाले गम्भीर चासो देखाएको छ । ‘सिधै सडक लैजाँदा बंगालमा पर्छ, यू टर्न गर्दा बिहार जोडिन्छ ।
बंगालको भूभाग नजोडी बिहार लैजाँदा यस्तो समस्या देखापरेको हो’, भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठले भने, ‘यसबारेमा नेपालको विराटनगरस्थित भारतीय महावाणिज्य दूतावास र नेपाल सरकारलाई लिखित तथा मौखिक जानकारी गराइसकेका छौँ ।’ उनका अनुसार अहिले बन्दै गरेको यू टर्नलाई रेडियम अफ क्रभेचर भनिन्छ । कम्तीमा ३०० देखि ४५० मिटर रेडियम नभए ठूला सवारी साधन आवतजावतमा समस्या हुनेछ । अहिले रेडियम करिब १०० देखि १५० मिटर मात्र रहेको छ । यसलाई फराकिलो बनाउन आवश्यक छ ।
भद्रपुरकै सडकमा सर्वसाधारणको अवरोध हुलाकी राजमार्ग जोड्ने योजनाका साथ बनाइएको मेची पुलको सडक निर्माणको कामले तीव्रता पाउन सकेको छैन । भद्रपुरबाट सडक निकाल्न घरधनीले घर तथा जमिन खाली नगर्दा यस्तो समस्या उत्पन्न भएको हो ।
भौतिक संरचना हटाउन जमिनका लागि मात्र साढे पाँच करोड र घरको मूल्याकंन गर्दा करिब साढे दुई करोड रुपैयाँ आवश्यक रहेको हुलाकी राजमार्ग योजना कार्यालय इटहरीका इन्जिनियर उपेन्द्र दासले बताए । ‘सडकमा पर्ने २२ घर परिवारलाई जमिनवापत चार करोड रुपैयाँ वितरण गरिसकेका छौँ’, उनले भने, ‘जमिनको साढे एक करोड र भवनको गरी अझै साढे तीन करोड रकम आवश्यक देखिएको छ । यसको निकासा पनि अर्थ मन्त्रलायबाट भइसकेको छ ।
रकम आउनासाथ वितरण गरी काम अघि बढाइनेछ ।’ रकम नपाउँदा सर्वसाधारणले जमिन खाली नगरेको उनले बताए । ‘पुल निर्माण कम्पनीले अहिले ३६० मिटर ग्राभेल सडक बनाउनेछ’, उनले भने, ‘पुललाई हुलाकी राजमार्गसँग जोड्ने काम बाँकी नै छ ।’ त्यसका लागि डिजाइन र नक्सा अहिले नबनिसकेको उनले बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

धनमायाँको धन कमाउने सपना पूरा हुन नसकेपछि

झापा/ धन कमाउने आसमा जोर्डन पुगेकी झापा बिर्तामोडकी ३२ वर्षीया धनमाया बस्नेत अहिले सडकमा छिन्। उनको पेटमा ८ महिनाको बच्चा छ।

श्रीमान् र परिवारको अनुरोधमा घरेलु कामदारका लागि १९ महिनाअघि जोर्डन पुगेकी धनमाया काम गरेको कम्पनीमा बलात्कृत भइन्। गलैंचा फ्याक्ट्रीमा काम गर्ने धनमाया भारतीय सहकर्मीबाट बलात्कारको सिकार भएकी थिइन्।

आफूलाई परेको कारुणिक पीडाबारे खुल्दै उनले थपिन्, ‘एकलासको बाटो थियो। पछाडिबाट एक जनाले अँगालो हाल्यो र लडायो अनि रुमालले मेरो मुख थुनेर बलात्कार गर्‍यो। उसले मलाई जेजे गर्नु थियो सक्यो अनि छाडेर भाग्यो। वरिपरि कोही थिएनन् र मैले पनि न्याय नपाउने डरमा यो घटना कसैलाई सुनाइन्।’ घटनाबाट पीडित उनी बाँच्नु न मर्नुको अवस्थामा पुगिन्। ‘मर्न खोजें मर्न सकिनँ, नेपाल आएँ ज्युँदै मरें,’ नौ दिनअघि श्रीमान् र परिवारका सदस्यले घरनिकाला गरेपछि न्यायको खोजीमा भौंतारिएकी धनमायाले गहभरि आँसु पारेर भनिन्।

उनलाई कम्पनीका म्यानेजरले गत महिना मात्रै नेपाल डिपोट गरेका थिए। कम्पनीबाट काम गरेर फर्किने क्रममा धनमाया भारतीय नागरिकबाट राति ११ बजे बलात्कृत भइन्। आफूमाथि परेको पीडा उनले सहकर्मीलाई सुनाइन्। ‘अर्काको देशमा आएकाले कुनै कारबाही हुँदैन भन्ने साथीहरूले भने। म अत्तालिएँ,’ उनले सुनाइन्। बिस्तारै उनको पेट बढ्दै गयो। बलात्कारको निसानी पेटमा बढेको बल्ल थाहा पाइन्। ‘कम्पनीको म्यानेजरलाई सुनाएँ। उसले बलात्कारी र मलाई घर फर्काइदियो,’ उनले भनिन्। धनमायाका श्रीमान् किरण पनि वैदेशिक रोजगारीका लागि साउदी अरबमा थिए। उतैबाट किरणले रोजगारीमा जान दबाब दिएपछि काठमाडौंमा रहेको एसीसी म्यानपावरमार्फत जोर्डन पुगेकी थिइन्। ‘घर चलाउन गाह्रो थियो।

पैसा पठाउनु भन्दा तँ नै कमाएर देखा भनेपछि छोराछोरी पढाउन र घर खर्च चलाउन विदेशिएँ। सपना साकार गर्नेभन्दा पीडाको भारी बोकेर फर्किएकी छु,’ उनले भनिन्। उनका १४ र ९ वर्षीया २ छोरी र ४ वर्षीय १ छोरा छन्। उनले भनिन्, ‘पैसा कमाएर आएको भए प्यारो हुन्थें होला, पीडामा परेर फर्किएँ, अहिले घरबाट निकालिएँ।’

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

भूटानीहरुबाट १ डलर सहयोग संकलन

दमक/ झापा तथा जोखिममा परेका भूटानी शरणार्थी बृद्धबृद्धा तथा बालबालिकालाई सहयोग गर्ने उद्देश्यले तेस्रो मुलुकमा पुर्नवासमा भएका भूटानीहरुबाट १ डलर सहयोग संकलन अभियान शुरु गरिएको छ ।
पछिल्लो समय भूटानी शरणार्थीहरु तेस्रो मुलुक जानेक्रमसँगै शिविरमा एक्लिएका बृद्धबृद्धा र बालबालिकाहरुको अवस्था नाजुक बने पछि यो अभियान शुरु गरिएको हो । शरणाथीहरुलाई रेखदेख गर्दै आएको दातृ निकायले दिँदै आएको राहत तथा सेवा सुविधा समेत कटौती हुन थाले पछि संकटमा परेका बृद्धबृद्धाहरु कतिपय विजोग भएर मर्नु परेको अवस्था आएको छ ।

करिव १ दर्जन हाराहारीमा एक्लिएर मर्ने संख्या पुग्दा शरणार्थी शिविरमा रहेका अगुवाहरुले चन्दा संकलन गरेर उपचार तथा काजक्रिया गर्नु परे पछि शरणार्थी अगुवाहरुको छलफलले अक्षयकोष निर्माणका लागि अभियान शुरु गरिएको पूर्व सचीव तथा फेन्स क्वल भूटानका अध्यक्ष युवराज राईले बताउनु भयो ।
अहिले जोखिममा परेका बृद्धबृद्धाको संख्या २ सय भन्दा धेरै र १ सय ५० हाराहारीमा बालबालिकाहरु बताइएको छ । संकलन गरिएको रकम बाट स्थापना गरिएको अक्षयकोषले असहाय तथा अनाथहरुलाई सहयोग गरिने जनाईएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

दमकमा उद्यमशीलताबारे बहस चलाउने

दमक/ दमक पव्लिक लाइव्रेरीले मासिक रुपमा उद्यमशीलता बहस कार्यक्रम सञ्चालन गर्ने भएको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा ख्याति कमाएका विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई सहभागि गराएर लाइव्रेरीले त्यस्तो बहस सञ्चालन गर्ने भएको हो ।
बुधवार लाइव्रेरीले आफनै कार्यालयमा पत्रकार सम्मेलन गरि उद्यमशीलता बहस कार्यक्रमलाई शुरुवात गर्न लागिएको जनाएको छ । लाइव्रेरीका अध्यक्ष भेषराज न्यौपानेले विभिन्न क्षेत्रमा क्रियाशील लाइव्रेरीलाई थप शसक्तीकरण गराउन उद्यमशीलता बहस कार्यक्रम शुरुवात गर्न लागिएको बताए । राजधानी बाहिर यस्तो ‘टक शो ’ दमकमा पहिलो हुने उनले जनाए ।
सफल उद्यमशीलका अनुभव सवैका लागि उत्प्रेरणा हुने भएकाले त्यसलाई विशेष कार्यक्रमका रुपमा अगाडी ल्याईएको अध्यक्ष न्यौपानेले बताए । उनले पहिलो वर्षका लागि एक दर्जन बढी सफल उद्यमशील व्यक्तित्वलाई समन्वय गरिने कार्य भइरहेको जानकारी दिए ।
उनका अनुसार पहिलो उद्यमशीलता बहस यहि बैशाख ८ गते हुने छ । विहान ११ वजेतिर शुरु हुने सो बहस स्थानीय रेडक्रसको सभाहलमा हुने जनाईएको छ । पहिलो बहसको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको लाइव्रेरीका सचिव हरि सिटौलाले जानकारी दिए । पहिलो बहसको मुख्य आर्कषक व्यक्तित्व पर्यटन व्यवसायी तथा लेखक कर्ण शाक्य रहने छन् ।
बहसमा सर्वसाधारणका लागि रु १ सय देखि ५ सय सम्मका टिकट राखिएका छन् । करिव ३ घण्टा चल्ने बहसमा दमक क्षेत्रका उच्च शिक्षामा अध्ययनर विद्यार्थीहरुसहित ४ सय बढीको सहभागिता रहने जनाईएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्